कृषि सेवा केन्द्र प्रयोगविहीन



 

बिर्तामोड, २६ पुस । तीन दशकअघि करोडौँको लगानीमा निर्माण गरिएका जिल्लाका कृषि सेवा केन्द्रका भवन अहिले काम नलाग्ने अवस्थामा छन् ।

कृषकलाई सल्लाह र परामर्श दिने उद्देश्यले स्थापना गरिएका सेवा केन्द्र भवन मर्मत सम्भार नहुँदा जीर्ण भएका हुन् । कृषि तथा सहकारी मन्त्रालयअन्तर्गत रहेका सेवा केन्द्र र कर्मचारीको दरबन्दी कटौतीपछि पछिल्लो समय भवनको रेखदेख हुन छाडेको छ । आव २०७०/७१ मा भवन मर्मतका लागि रु छ लाख बजेट प्राप्त भएको भएपनि भवन मर्मत सम्भार हुन सकेनन् ।

विसं २०६० सम्म जिल्लामा छ वटा सेवा केन्द्र र ११ वटा उपकेन्द्र सञ्चालनमा थिए । विसं २०६१ मा चार वटा मात्र सेवा केन्द्र रहने व्यवस्था गरेपछि जिल्लाको गौरादह, चकचकी, पृथ्वीनगर र चारआलीमा मात्र सेवा केन्द्र रहेका छन् । गौरीगञ्ज, दमक, सुरुङ्गा र बुधबारे सेवा केन्द्रका रुपमा छन् ।

बाँकी भवन तत्काल मर्मत सम्भार गर्नुपर्ने अवस्थामा रहेका जिल्ला कृषि विकास कार्यालयका प्रमुख मेघराज तिम्सिनाले बताउनुभयो । न्यून बजेटका कारण भवन मर्मत गर्न नसकिएको उहाँको भनाइ छ । अहिले सेवा केन्द्रका भवन गाईबस्तुको ओत लाग्ने स्थलका रुपमा परिणत भएका छन् । रासस

प्रतिक्रिया दिनुहोस्