ओढारमा बस्ने माझी दम्पत्तीको व्यथा कसैले बुझेन



दुर्गाप्रसाद शर्मा, पर्वत ।
वर्षायाममा बस्ती भन्दा माथिबाट आएको पहिरोले घर पुरेपछि विगत डेढ वर्षदेखि ओढारमा बस्दै आएका यहाँका एक दम्पत्तीले कतैबाट सहयोग नपाएको गुनासो गरेका छन् ।

जिल्लाको कुश्मा नगरपालिका–१ मालढुंगास्थित माझि बस्तीका भिमबहादुर माझीको परिवार ओढारमा बस्ने बाध्य भएको हो । स्थानिय ६२ वर्षीय भीमबहादुर माझी र उनकी श्रीमती ४५ वर्षीया चन्द्रकुमारी माझी डेढ वर्षदेखि ओढारमा दैनिकी गुजार्दै आएका छन् ।

घर, सम्पत्ति पहिरोमा गुमेपछि बागलुङ–पर्वतको सीमाक्षेत्र मालढुङ्गामा बस्ने माझी दम्पत्ति आफ्नै थातथलोमा पनि ‘शरणार्थी’ झैं बस्नुपरेको हो । बिहान, बेलुका छाक टार्ने केले हो भन्ने चिन्ता एकातिर छ भने अर्कोतिर गतिलो सुत्ने बास नहुँदा पिरलोमा पर्दै आएका छन् । २०७२ साउन ३ मा मालढुङ्गा–बेनी सडक खण्डको माथि पाङबाट खसेको पहिरोले माझी दम्पत्तीको घरबास पूर्ण रुपमा पुरिएपछि उनीहरु ओढारमा बस्दै आएका हुन् ।

घरको भग्नावशेष देखाउँदै चन्द्रकुमारी माझीले आफूहरुको यो हालत हुँदा पनि कसैले नहेरेको गुनासो पोखिन् । उनका दुई छोरा अलग्गै घरमा बस्दै आएका छन् । दुई छोरीहरुको विवाह भइसकेको छ । बुढेशकाल लाग्ने बेलामा परिवारबाट एक्लिएका माझी दम्पत्तिको बाँच्ने सहारा भनेको कालीगण्डकी किनारको गिटी र बालुवा बनेको छ ।

‘बालुवा, गिटी निकालेर छाक टार्दै आएका छौं, हामीलाई कसैले सहयोग गरेको छैन’ चन्द्रकुमारीले भनिन् ‘हामी पुरानै बासमा फर्कन चाहान्छौं, तर घर केले बनाउने, हाम्रो उपाय छैन ।’ त्यहाँका अन्य केही माझी परिवार पनि विस्थापित अवस्थामा छन् । पुस्तौंदेखि कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले आफूहरु राज्यबाट उपेक्षामा परेको गुनासो गर्ने गरेका छन् ।

छिटफुट राहात पाएपनि पहिरोबाट विस्थापितहरुको पुर्नबास र व्यवस्थापनमा कसैले ध्यान नदिएको स्थानीय श्रमिक प्राविका प्रधानध्यापक तेजेन्द्र आचार्यले बताए । ‘परिवारको अवस्था साह्रै दयनीय छ, बस्ने बास समेत गुमेपछि यो अवस्था आयो ।’ उनले भने ।

घरमा भएको अलिअलि सम्पत्ति पनि पहिराले पुरेपछि माझी दम्पत्तिको अवस्था झन् कहालीलाग्दो बनेको हो । बागलुङ र पर्वत जोड्ने कालीगण्डकी नदी किनारमा बस्दै आएका माझीहरुले शिक्षा, स्वास्थ्य, जिवीकोपार्जन लगायतका क्षेत्रमा राज्यको सहयोगको अपेक्षा गर्दै आएका छन् । माछा मारेर जीवन धान्ने माझीहरु पनि त्यही बसोबास गर्छन् ।

वर्षायाम लाग्ने बित्तिकै डर–त्रासमा दिनरात कटाउनुपर्ने अवस्थामा माझीहरु छन् । लगातार दुई वर्षसम्म पहिरो खस्दा माझी वस्तीको साथै त्यहाँ रहेको विद्यालय पनि जोखिममा परेको छ । यो वर्ष पहिरो नखसेपनि विगतको पहिरोले पु¥याएको क्षतिको घाउ निको नभएपछि माझी वस्तीको दुःख अझै रोकिएको छैन ।

त्यहाँ बस्दै आएका माझी परिवार र विद्यालयको सहकार्यमा यसबर्ष एक्साभेटरको प्रयोगले बाढी नियन्त्रणका लागि गाउँ माथि सम्याउने काम गरेकाले यस बर्ष बाढी बस्तीमा पस्न नपाएको प्रधानध्यापक आचार्यले बताए । मालढुंगामा विना लालपुर्जा २८ परिवार मजदुरी गरेर बस्दै आएका छन् ।

प्रतिक्रिया दिनुहोस्