कुश्मा नगरपालिकाको बजेट साढे १६ करोड



पर्वत, २६ पुस ।
पर्वतको कुश्मा नगरपालिकाको चौथो नगर परिषद सम्पन्न भएको छ । परिषदले आगामी आर्थिक वर्ष ०७४÷०७५ का लागि १६ करोड ४० लाख ४२ हजार ५ सय रुपैया बराबरको बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको छ ।

जस मध्ये जस मध्ये पुँजीगत बजेट तर्फ ९ करोड १ लाख १९  हजार ६ सय रहेको छ भने चालु तर्फ ७ करोड ३९ लाख २२ हजार ६ सय रुपैया बिनीयोजन गरेको छ । नगरपालिकाले चालु आर्थिक वर्ष ०७३/७४ का लागि रु १४ करोड ४२ लाख ९६ हजार ८ सय  बराबरको बजेट निति तथा कार्यक्रम सार्वजनिक गरेको थियो ।  चालु आर्थिक वर्ष भन्दा आगामी आर्थिक वर्षका लागि झण्डै २ करोड बढि बजेट प्रस्ताव गरेको हो ।

शुक्रवार आयोजित एक कार्यक्रममा कुश्मा नगरपालिकाका कार्यकारी अधिकृत कुमानसिंह गुरुङले आगामी आर्थिक वर्षको बजेट, निति तथा कार्यक्रम सार्वजनिक गर्नुभएको हो ।

जस अनुसार निशर्त चालु अनुदान अन्तर्गत केन्द्रिय चालु अनुदान ५० लाख ६० हजार, आन्तरिक चालु बजेट १ करोड १५ लाख ६२ हजार, सामाजिक सुरक्षा तर्फ ५ करोड ७३ लाख गरी ७ करोड ३९ लाख २२ हजार रहेको छ ।

बजेट मध्ये पुँजीगत केन्द्रिय अनुदान २ करोड ९५ लाख, नगर क्षेत्र पूर्वाधार विकास कार्यक्रम तर्फ १ करोड ५७ लाख, ठुला पूर्वाधार तर्फ १ करोड बिनीयोजन गरिएको छ । त्यस्तै आन्तरिक पुँजीगत तर्फ १ करोड ३४ लाख, सडक बोर्ड नेपाल तर्फ १५ लाख, जगेडा कोष भौतिक निर्माणतर्फ २ करोड गरी कुल पुँजीगत ९ करोड १ लाख १९ हजार पाँच सय प्रस्ताव गरिएको हो ।

सो बजेट मध्ये समपुरक कोषका लागि ७६ लाख, विभिन्न् कोष तथा विशेष कोषहरुतर्फ ११ लाख, लक्षित वर्ग तर्फ ७६ लाख ४४ हजार,  आर्थिक सामाजिक भौतिक पूर्वाधारहरुतर्फ १ करोड ५६ लाख ९० बजेट बिनीयोजन भएको छ ।

त्यस्तै जगेडा कोष तर्फको १ करोड रुपैया नगरपालिका भवन निर्माण र बान्द्रेविडि वसपार्क निर्माणका लागि १ करोड १५ लाख ६२ हजार र पुँजीगत तर्फ १ करोड ३४ लाख ३७ हजार ५ सय रुपैया बजेट प्रस्ताव गरिएको कार्यकारी अधिकृत गुरुङले जानकारी दिनुभयो ।

चालु अनुदानको ५० लाख ६० हजार रुपैया भने तलब, भत्ता र अन्य विविध शिर्षकमा खर्च गरिने भएको छ । नगरपालिकाले आगामि आर्थिक वर्षमा रु २ करोड ५० लाख रुपैया आन्तरिक आय गर्ने लक्ष्य लिएको छ । अघिल्लो आर्थिक वर्षमा २ करोड २६ लाख रुपैया आम्दानी गर्न सफल भएको थियो । अन्य रकम नगरपालिका भित्रका अन्य २ सय १६ वटा टुक्रे योजनामा खर्चिने भएको छ । जस मध्ये चार वटा ठुला पूर्वाधार योजना अन्तर्गत सडक विस्तारमा झण्डै २ करोड बिनीयोजन हुने बताइएको छ ।

प्रतिक्रिया दिनुहोस्