सदनमा हडताल, सडकमा रत्यौली !



फणीन्द्र फुयाल ज्वाला

‘तराई–पहाड एउटै ज्यान, नेपाली हाम्रो पहिचान’ नारा घन्काउँदै प्रतिपक्षी दल नेकपा एमालले तीन गत शुक्रबार राजधानीको सडकमा प्रदर्शन ग¥यो । प्रदर्शनको अघिल्लो दिन एमालेका केही युवाले मोटरसाइकलमा देश र पार्टीको झन्डा सिउरेर सडक कब्जा गरे । लाग्थ्यो राजधानीको सडकको सम्पूर्ण लालपूर्जा उनीहरुको पार्टी कार्यालय धुम्बाराहीमा सुरक्षित छ ।

सरकारको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसहित अन्य आठ दलले आयोजना गरेको जनसभापूर्वको पदयात्रामा राजधानी र देशका विभिन्न जिल्लाबाट झिकाइएका जनताले प्रदर्शनीमार्गको सडक त भरे, तर त्यो भन्दा धेरै जनताले काठमाडौंको सडकमा निकै सास्ती बेहोर्नुप¥यो । पुरानो बसपार्कबाट भक्तपुर जानका लागि तयार भएका केही युवायुवती आपसमा भन्दै थिए– एमालेको सडक–रत्यौलीले गर्दा आज गोत्ता पाइयो ।’

एमालेको प्रदर्शनको अघिल्लो दिन सडकमा मोटरसाइकल ¥यालीका कारण पनि राजधानीमा सार्वजनिक सडक र सवारी प्रयोकर्ताहरु सडक जाम बेहोर्नुपरेकोमा निकै आक्रोशित देखिन्थे । उनीहरु एमाले सत्ताबाहिर एक निमेष पनि बस्न नसक्ने भएकै कारणले गर्दा सत्ताका लागि सडकमा नौटंकी देखाएर जनतालाई सास्ती मात्रै दिएकोमा आक्रोश पोखिरहेका थिए ।

एमालेले काठमाडौं उपत्यकाका विभिन्न २२ स्थानबाट मातहतका कमिटी र पेसागत संस्थालाई तुल, राष्ट्रिय झन्डा, पार्टीको झन्डा तथा चुनाव चिह्न र तोकिएको कार्यकर्तासहित सडकमा आउन निर्देशित गरेअनुसार उनीहरु आन्दोलनमा उत्रिएका थिए । कार्यकर्ताहरु यति उद्दण्ड स्वभावमा प्रस्तुत थिए कि उनीहरु सडक किनारमा रोपिएका फूल र बोट बिरुवाहरु उखेल्दै अनि हाँगा भाच्दै हिँडेका थिए । उनीहरुले पार्टीको कार्यक्रममा चन्द्र–सूर्य अंकित देशको राष्ट्रिय झन्डा बोक्नु अनि त्यही झन्डा कहिले भुइँमा ओछ्याएर बस्नु र कहिले त्यही झन्डाले जुत्ता पुछ्नु एमालेको ‘सच्चा राष्ट्रवाद’ प्रदर्शन भएको थियो ।

प्रदर्शनीमार्गबाट पद्मोदय मावितर्फ फर्किएको मञ्च र सहभागी जनसमूहलाई आकाशबाट सुरक्षाकर्मीको ‘ड्रोन क्यामेरा’ले अनुगमन गरेको थियो । एमालेका नेताहरु जनमास धरै भएकाले क्यामराको लेन्सले खिच्न नभ्यार ड्रोनको प्रयोग गरेको तर्क गर्छन् । उनीहरु केही दिनपछि मधेस केन्द्रित सभा गर्ने र त्यस बेला सेटलाइटमार्फत जनमास खिच्नुपर्ने तर्क पनि गर्छन् । तर राजधानीको अनामनगरस्थित एक चिया पसलमा केही राजनीतिक ‘एलिट’हरु भन्दै थिए– तराईको आन्दोलनमा सेटलाइटले खिच्ने एमालेको पूर्वतयारी र पूर्वानुमान सतप्रतिशत ठीक छ । किनकि तराईमा एमालेको सभा र कार्यक्रममा कोही पनि जनता उपस्थित हुनेछैनन् । त्यसैले सेटलाइटले माथिबाट एक–एक जना मानिस खोज्दै, खिच्दै गरेर देखाउने होला !

सत्ताबाट बाहिरिनुपरेको झोकमा यति बेला एमाले यस्तो भोको बनिसकेको छ कि उसलाई सत्तामा रहँदा राष्ट्रियता कत्ति पनि संकटमा परेको भान हुँदैन । जब ऊ सत्ताको भत्ताले मैमत्ता हुन पाउँदैन तब उसलाई राष्ट्रियता निकै संकटमा परेको भान हुन्छ । एमालेको लहलहैमा लागेका नेपाल मजदुर किसान पार्टी, राष्ट्रिय जनमोर्चा, नेकपा मालेलगायतका केही साना दलहरु पनि यति बेला एमालेको धोती समातेर सती जान उन्मुख छन् ।

एमालेलगायतका ती दलहरुलाई थाहा छैन कि, थाहा पाएर पनि बुझ पचाएका हुन् ? संविधान यस्तो वस्तु होइन, जुन ढुंगाको मसीले ढुंगाकै कापीमा लेखिएको शिलालेख हो । संविधान त यस्तो वस्तु हो जुन समय सन्दर्भबमोजिम चलायमान र फेरबदल भइरहन्छ । यो एउटा प्रगतिशील दस्ताबेज हो, जसले सबै समुदायका आवाजहरुलाई मुखरित गर्दे राष्ट्रलाई समृद्धि र सबै भूगोल, लिंग, जनजाति अनि समुदायका जनतालाई अधिकार सम्पन्न पार्नेछ । एमालेलगायतका आन्दोलनरत दलहरुले यो बुझ्नु जरुरी छ कि भारतको विरोध गर्नु मात्र राष्ट्रियता होइन ।

यदि एमालेलाई आफ्नो एजेन्डा सही लाग्छ र आफ्ना सांसदहरुको पूर्ण विश्वास छ भने सदनमा दर्ता भएको संविधान संशोधन प्रस्तावको विपक्षमा मतदान गरे भइहाल्यो नि । यो लोकतान्त्रिक, गणतान्त्रिक र प्रजातान्त्रिक मुलुकमा सबैका आ–आफ्नै अडान, आवाज र अधिकार हुन्छन् । एमालेले पनि आफ्नो पक्षमा रिजल्ट निकाल्ने हो भने आफ्नो कोर्टमा आएको बललाई च्याप्प हातले समातेर राख्ने होइन कि अब त्यसलाई हिम्मतका साथ विपक्षीको कोर्टमा फ्याँक्न सक्नुपर्छ ।

त्यसैले एमालेजस्तो जिम्मेवार राजनीतिक दलले केटाकेटीपना र बालहठ त्यागेर सदन चल्न दिनुपर्छ । उसले सदनमा संशोधनको विपक्षमा मतदान गर्न सक्छ । हार र जीतको फैसला हुने खेलमा एमालेले खुट्टा कमाएर खेल बहिष्कार गर्नुको कुनै पनि तुक छैन । नत्र त्यसको रिजल्ट फेरि पनि खुला मैदानमा हुने स्थानीय चुनावी खेलमा नराम्रो नतिजा हात पार्न बाध्य हुनुपर्नेछ ।

प्रतिक्रिया दिनुहोस्