राजधानीलाई सुन्दर बनाउन ३ अर्ब



ईश्वरराज ढकाल
काठमाडौं
राजधानी सौन्दर्यीकरण गर्न झण्डै ३ अर्ब रुपियाँ बिनियोजन भएको छ। साच्चिकै राजधानीको रूप व्यवस्थित गर्न काठमाडौं महानगरपालिकाले उक्त रकम विनीयोजन गरेको हो। काठमाडौ सौन्दर्यीकरण गर्न करिब आधा दर्जन योजना सार्वजनिक गरिएको छ। कामपाले शहरी पूर्वाधार तथा सार्वजनिक निर्माण क्षेत्रमा १ अर्ब ६२ करोड रुपियाँ विनियोजन गरिएको छ। त्यस्तै वातावरण संरक्षण हरियाली प्रवद्र्धन कार्यक्रमका लागि ८१ करोड, उज्यालो काठमाडौं कार्यक्रमका लागि १० करोड, काठमाडौं उपत्यका शहरी यातायात विकास गर्न २ करोड र वधशाला व्यवस्थित गर्न ५ करोड रुपियाँ विनियोजन गरेको छ। कामपाका कार्यकारी अधिकृत रुद्रसिंह तामाङले महानगरलाई व्यवस्थित शहरका रूपमा अघि बढाउन सौन्दर्यीकरण कार्यक्रमलाई प्राथमिका दिएको बताउनुभयो।

उहाँले हरियाली र सुन्दर राजधानी बनाउने योजनाअनुसार सो क्षेत्रमा पर्याप्त मात्रामा बजेट विनियोजना गरिएको उल्लेख गर्नुभयो।कामपको २९औं महानगर परिषद्ले आगामी आव २०७४–७५ का लागि बजेट विनियोजन गर्ने क्रममा राजधानी शहरको सौन्दर्यीकरणलाई उच्च प्राथमिकतामा राखेको हो। कामपाको आगामी आवको बजेट ५ अर्ब ३७ करोड रूपियाँ विनियोजन गरिएको छ। यसका लागि १ अर्ब ८३ करोड रूपियाँ स्रोत आन्तरिक आयबाट प्राप्त हुने प्रक्षेपण कार्यालयको छ। आन्तरिक आयको रूपमा स्थानीय करको योगदान ४५ प्रतिशत र गैरकर अनुदानको योगदान ५५ प्रतिशत रहने महानगरले उल्लेख गरेको छ।
महानगरले ४ अर्ब ७१ लाख रूपियाँ विकास खर्चका लागि छुट्याएको छ।

महानगरले २७ वटा कार्यक्रम सार्वजनिक गरेको छ।यसै आवबाट बागदरबार प्रवलीकरण गर्ने, टेकुमा बहुतले स्टिल स्ट्रक्चरसहितको महानगरपालिका भवन निर्माण, जनस्वास्थ्य सामाजिक विकास, सम्पदाको पुनर्निर्माण तथा विकास, विपद् व्यवस्थापन, सूचना तथा सञ्चार प्रविधि र सेवाप्रवाह, राजस्व क्षेत्र, वित्त, शहरी योजना, अन्तर्राष्ट्रिय सम्बन्ध, सार्वजनिक निजी साझेदारी क्षेत्रको विकास कार्यक्रम अघि बढाएको छ। नगर स्तरीय आपत्कालीन उद्धार केन्द्र प्रणाली स्थापना, जग्गा एकीकरण, कर प्रणालीको सुधार, स्थानीयस्तर विपद् नागरिक सुरक्षा समिति गठन, सार्वजनिक पर्ति खुल्ला जग्गालाई संरक्षण गरी आपत्कालीन अवस्थामा उपयोग, पूर्वकुमारी, गणेश, वरिष्ठ जेष्ठ नागरिक, ८८ वर्ष उमेर पुगेका र पूर्ण अपांगलाई महानगरबाट प्रदान गरिने भत्तालाई निरन्तरता दिने कार्यक्रम सार्वजनिक गरेको छ।
त्यस्तै २७ वटा शहरी स्वास्थ्य क्लिनिकहरूलाई सुदृढीकरण गर्ने, सामुदायिक कुकुर र सामाजिक कुकुर नियन्त्रण तथा व्यवस्थापन, सार्वजनिक ४२ स्थानहरूमा सार्वजनिक शौचालय निर्माण, १ हजार २ सय ८५ वटा सडक सौर्य बत्ती जडान, सरसफाइ क्षेत्रमा कार्यरत मजदुरहरूको स्वास्थ्य तथा जनजीविकाको सवाललाई सम्बोधन, काष्ठमण्डपको पुनर्निर्माण कार्यलाई प्रारम्भ गर्ने, गत आवदेखि शुरु भएका रानी पोखरी पुनर्निर्माण तथा सौन्दर्यीकरण, बालाजु सौन्दर्यीकरण कार्यक्रम, रानीबारी व्यवस्थापन, बाग्मती सम्पदा पथको निर्माण कार्यलाई निरन्तरता दिने विषय उल्लेख गरेको छ। कामपाले आजबाटै सूचना प्रविधिमा आधारित ३० प्रकारका सेवा अनलाइनमार्फत गर्ने कार्यक्रम समेत सार्वजनिक गरेको छ। स्थानीय विकास मन्त्री हितराज पाण्डेले महानगरपरिषद्को उद्घाटन गर्नुभएको थियो। सो अवसरमा उहाँले सरकार स्थानीय निर्वाचनको तयारमिा लागेको जानकारी दिनुभयो। कार्यक्रममा कामपाका संगठन तथा प्रशासन विभाग प्रमुख ज्ञानेन्द्र कार्की दलीय संयन्त्रका प्रतिनिधिलगायतले कामपाको योजनाका बारेमा जानकारी गराएका थिए।

प्रतिक्रिया दिनुहोस्