सुन धितो राखेर सामुदायिक भवन निर्माण



नेपाल समाचारपत्र
भद्रपुर
आफ्नो कला संस्कृतिको जगेर्नाका निम्ति सामुदायिक भवनको निर्माण सम्पन्न गर्न सुन धितो राखेर भवन निर्माण कार्य भइरहेको छ।

झापाको भद्रपुर–१० स्थित किराँत कल्याण समितिद्वारा निर्माण भइरहेको किराँत सामुदायिक भवनका लागि सो क्षेत्रका किराँत परिवारले आफ्नो क्षमताअनुसारको सुन धितो राखेर भवन निर्माणलाई निरन्तरता दिँदै आएका हुन्। भद्रपुर–१० मा एक कट्ठा जगा खरिद गरी डेढ करोडको लागतमा निर्माणाधीन दुई तले किराँत सामुदायिक भवनलाई निरन्तरता दिएको समितिका सदस्य मनोज सुब्बाले बताउनुभयो। भवन निर्माणका लागि जिविस, भवन डिभिजन कार्यालय, राजनीतिक दलले सहयोग गरे पनि रकम अपुग भएकाले घरमा भएको यथाशक्ति सुन धितो राखेर ब्याज तिर्दै भवनलाई निरन्तरता दिएको सुब्वाको भनाइ छ।

भुइँतला सम्पन्न भइसकेको र पहिलो तलाको छत ढलाइलगायतका लागि रकम नभएकाले यस्तो प्रकारको निर्णय गरेर काम सुचारु गरिएको उहाँले बताउनुभयो।
समितिले भवन निर्माणका लागि प्रत्येक वर्ष किराँतहरूको मुख्य चाड उधौलीको अवसर पारेर किराँत कोलोनीमा भव्यताका साथ पन्ध्र दिने महोत्सवसमेत शुरू गरिएको महोत्सवका संयोजकसमेत रहेका सुब्बाले बताउनुभयो। किराँत महोत्सव समिति भद्रपुरले सोमबार पत्रकार सम्मेलन गरी भवन तथा महोत्सवको उद्देश्यका बारेमा जानकारी गराएको छ।

विगत नौ वर्षदेखि मेलाको आयोजना गरी प्रत्येक वर्ष बचेको रकमबाट सामुदायिक भवनमा खर्च गरिरहेको किराँत कल्याण समितिका सदस्य नन्दीकुमारी राईले बताउनुभयो। यो वर्षको मेलाबाट करिब तीन लाख खर्च कटाएर अन्दाजी ६ लाख रुपियाँ बचत गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो। मेलामा जातीय संस्कृति झल्काउँदै यही पुस २७ र २८ गते राष्ट्रिय कलाकार इन्दिरा जोशी र मेलिना राई तथा स्थानीय कलाकारको बेजोड प्रस्तुती रहनेसमेत मेला आयोजकले जनाएको छ। मेलामा गेट टिकट नभएकाले सबैलाई प्रस्तुती अवलोकनका लागि अनुरोध गरेको छ।

प्रतिक्रिया दिनुहोस्