संस्कृति संरक्षण गर्न विशेष नीतिमा जोड



नेपाल समाचारपत्र
ललितपुर
ललितपुर उपमहागनरपालिकाको आर्थिक वर्ष २०७४⁄०७५ का नीति, योजना र कार्यक्रममा संस्कृति सम्पदा संरक्षण गर्न ठोस नीति समेटिनुपर्ने सरोकारवालाहरूले माग गरेका छन्। सोमबार उपमहानगरपालिकाको सभाकक्षमा भएको बजेट नीति तथा कार्यक्रम सम्बन्धमा आयोजित एकीकृत योजना तर्जुमा समितिको बैठकमा उनीहरूले सो माग गरेका हुन्।

नगरपरिष्दका लागि प्रस्तावित नीतिमा संस्कृति सम्पदा संरक्षण, सम्बन्धित गुठीयारहरूको सबलीकरण, आर्थिक विषयसँंग जोडेर संरक्षण गर्नुपर्ने, उपमहानगरपालिकाको संस्कृति सम्पदा केन्द्रमा जनशक्तिको अभावलगायत विविध पक्ष नसमेटिएको, सामाजिक समावेशीकरणतर्फ लक्षित वर्गको आर्थिक, राजनीतिक र सामाजिक क्षमता बढ्ने विषय छुटइइएको, युवावर्गको सञ्जाल निर्माण गर्ने विषयमा समावेश नगरिएको धारणा सहभागीहरूले राखेका थिए।

ललितपुर उद्योग वाणिज्य संघका अध्यक्ष सविन श्रेष्ठले पर्यटन उद्योग प्रवद्र्धन र त्यसअन्तर्गतको होमस्टे, एक जिल्ला एक उत्पादनलाई संस्कृति संरक्षणसँग जोड्नुपर्ने खाँचो औंल्याउनुभयो। ज्यापू समाजका अध्यक्ष प्रेम महर्जनले प्रस्तावित सामाजिक समावेशीकरण नीति अपुरो रहेको उल्लेख गर्दै आदिवासी जनजाति, महिला, दलित, अल्पसंख्यको हैसियत बढाउनुपर्ने कार्यक्रमलाई नीतिले सम्बोधन नगरेको धारणा राख्नुभयो।

सो अवसरमा सहभागीहरूले सार्वजनिक सुनवाइ, सामाजिक परीक्षण, सार्वजनिक परीक्षणलगायत सुशासनसँग सम्बन्धित कार्यक्रममा स्थानीय जनताको सहभागिता बढाउने, स्थानीय सुशासनका बारे सचेतना जगाउने, युवासम्बद्ध संस्थाको सञ्जाल बनाउने विषयहरूलाई प्राथमिकता नराखिएकामा असन्तुष्ट व्यक्त गरे।

यसअघि प्रमुख जिल्ला अधिकारी दीपक काफ्लेले कला संस्कृति र ऐतिहासिकताले भरिएको ललितपुरमा संस्कृति संरक्षणको नीति ठोस हुनुपर्ने, आन्तरिक स्रोत बढाउनुपर्ने, लक्षित वर्गको कार्यक्रम प्रभावकारी हुनुपर्ने विषयमा जोड दिनुभयो।
समारोहमा कार्यकारी प्रमुख भरतमणि पाण्डेले परम्परागत बाजागाजाका गुरुहरू, कलाकारहरूको सम्मान, प्रोत्साहन, नेपाली भाषासँगै नेपाल भाषाको स्थानीय पत्रकारिताको विकास, नेपाल भाषा डेस्क संस्थापन गर्ने नीतिहरू ल्याइएको जानकारी दिनुभयो। सहभागीहरूले उठाएको धारणालाई परिमार्जन गर्दै नगरपरिषद्ले नीति ल्याउने पनि उहाँको प्रतिबद्धता थियो।

प्रतिक्रिया दिनुहोस्