पिकेका छात्राहरूबीच कुटाकुट



नेपाल समाचारपत्र
काठमाडौं
बागबजारस्थित पद्म कन्या क्याम्पसमा सत्तारुढ घटक नेपाली कांग्रेस र माओवादी केन्द्र निकट छात्राहरूबीचको झगडामा दुवैतर्फका केही विद्यार्थी घाइते भएका छन्। दुई विद्यार्थी संगठनबीच आइतबार झडप भएको हो। झडपमा परी नेविसंघकी नेतृ सीता मिजार तथा क्रान्तिकारीकी इकाइ अध्यक्ष वषन्ता भण्डारी, सदस्यहरू दर्सना नेपाली, दिपा जोशी र सरीता श्रेष्ठ घाइते भएका छन्।

स्ववियु निर्वाचनको प्रचारप्रसारका लागि गरेको भित्ते लेखनका विषयलाई लिएर झडप भएको घाइतेहरूले बताएका छन्। हामीले क्याम्पस हातामा स्ववियु चुनावको प्रचार गर्न भित्तेलेखन गर्दै थियौँ क्याम्पस इकाइ अध्यक्ष वषन्ता भण्डारीले बताइन्। त्यहाँ नेविसंघले रङ घोप्ट्याउने र लेखेको पेन्टिङ मेट्ने काम गर्दै आक्रमण पनि शुरु गर्यो।रड र झ्यालको सिसाले हानेर मलाई घाइते बनाएको छ ,अध्यक्ष भण्डारीले भनिन्।

घटनाबारे छानविन गरी दोषीलाई कारबाही गर्न भन्दै दिएको निवेदन महानगरीय प्रहरी वृत्त कमलपोखरीले लिन नमानेको उनले बताइन्। त्यस्तै अखिल क्रान्तिकारीका प्रवक्ता सुरेन्द्र बस्नेतले चुनावको प्रचारप्रसारमा लाग्दा हस्तक्षेप गर्नु निन्दनीय काम भएको भन्दै घटनाको घोर भत्र्सना गरेका छन्। यो सबै चुनाव बिथोल्नका लागि गरिएको षड्यन्त्र हो, उनले भने – ‘घटनाको छानविन गरी दोषिमाथि कारबाहीको माग गर्दछौं।’

नेविसंघकी इकाइ अध्यक्ष साधना घिमिरेका अनुसार क्याम्पसमा परीक्षा चल्दै गर्दा परीक्षार्थीलाई डिस्टर्ब गर्दै भित्ते लेखन गर्ने काम क्रान्तिकारीले गर्यो। ‘हामीले परीक्षाको बेला यसो नगर्न भन्दै क्याम्पस प्रशासनमा दबाब दिँदा क्रान्तिकारी तोडफोडमा उत्रियो। हामीले तोडफोड नगर भनेर सम्झाउँदा उल्ट हामीमाथि आक्रमण गर’ उनले भनिन्।

प्रतिक्रिया दिनुहोस्