राजविराज विमानस्थलको निर्माणकार्य तीव्र



शिवहरिप्रसाद भट्टराई
राजविराज
वर्षौंदेखि अलपत्र रहेको राजविराज विमानस्थलको निर्माणकार्यले तीव्रता पाएको छ। २०१६ सालमा तत्कालीन यातायातमन्त्री गणेशमान सिंहद्वारा उद्घाटन गरिएको उक्त विमानस्थलको निर्माणकार्य एक महिनादेखि तीव्र पारिएको हो।

विमानस्थल निर्माणको ठेक्का कान्छाराम, रमण, देव एन्ड सायर जेभीले लिएपछि मंसिरदेखि निर्माणकार्य शुरु भएको कम्पनीका इन्जिनियर मणिगोविन्द श्रेष्ठले जानकारी दिएका छन्। भ्याटसहित ३० करोडमा कम्पनीले ठेक्का लिएपछि अहिले माटो र सब बेसको कार्य शुरु गरिएको छ। यसपछि बेस र पिचिङको कार्य गरिने श्रेष्ठले बताए। आगामि मंसिरसम्म सम्पूर्ण काम सम्पन्न गर्ने म्याद रहे पनि जेठ महिनाभित्रै काम सक्न आफूहरू प्रयत्नरत रहेको उनको भनाइ छ। ‘पिचिङका लागि चतदेखि जेठसम्मको समय उपयुक्त हुन्छ’, उनले भने– ‘हामी त्यस अवधिभित्रै काम पूरा गर्ने प्रयासमा छौं।’

१ हजार ५ सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा १ सय ५ मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए। विमानस्थलको स्तरोन्नतिपछि नियमित विमान सेवा शुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुणकुमार प्रधानको भनाइ छ।
विमानस्थलको स्तरोन्नतिका लागि जिल्ला विकास समिति सप्तरीले छुट्याएको रु. २ करोड बजेटबाट हवाई मैदानको घेरवेर गर्ने कामसमेत थालिएको छ। कच्ची धावनमार्ग भएका कारण उक्त विमानस्थलमा नियमित उडान हुन सकिरहेको थिएन। पञ्चायतकालमा काठमाडौं र खोटाङको लामीडाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्