संविधान संशोधन प्रस्ताव पास हुँदैनः ओली



नेपाल समाचारपत्र
विराटनगर
नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी ओलीले जालझेल र छलछाम गरेर संसद्मा पेस भएको संविधान संशोधनको प्रस्ताव कुनै हालतमा पास हुन नदिने दाबी गर्नुभएको छ।

सोमबार विराटनगरमा नेकपा एमाले मोरङको आठौं जिल्ला सम्मेलन उद्घाटन गर्दै उहाँले नेपाल सरकारले अरू कसैका लागि किन संशोधन गर्नुपर्यो? भन्दै प्रतिप्रश्न गर्दै उहाँले भन्नुभयो– ‘सरकारले जालझेल, छलछाम र षड्यन्त्रपूर्वक संसद्मा पेस गरेको संविधान संशोधनको प्रस्ताव देश र जनताको हित विपरीत रहेकाले कुनै हालतमा पास हुन दिँदैनौं।’ संशोधन प्रस्तावको विपक्षमा सत्ता पक्षकै दलका प्रदेश नम्बर ४ र ५ का जनप्रतिनिधि र सिंगो जनता रहेको भन्नुहुँदै ओलीले संविधान संशोधन प्रस्ताव नितान्त अरूलाई नै खुसी पार्न मात्रै भएको दाबी गर्नुभयो।

अधिवेशनको उद्घाटन समारोहलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले गृहमन्त्रीले पेस गर्ने प्रस्ताव कानुनमन्त्री झुक्याएर पेस गरेको भन्दै उहाँले प्रश्न गर्नुभयो– ‘जालझेल र छलछाम किन गर्नुपर्यो?’

संविधान संशोधनको प्रस्ताव बाहिर एउटा वहानामा ल्याइए पनि त्यसको भित्री परिणाम अर्कै रहेको भन्दै उहाँले जुवाडेले कौडा खेले पनि सम्पत्ति र घरबारको नाश हुने जस्तै संशोधन प्रस्ताव पारित हुँदा राष्ट्रहित, अखण्डता तथा राष्ट्रियता र स्वाभिमानको हारजित हुने प्रतिक्रिया दिनुभयो। नेपालको राष्ट्रिय राजनीतिको केन्द्र एमाले भएको चर्चा गर्दै ओलीले एमालेविरुद्ध देशभित्रै र देशबाहिरबाट मोर्चाबन्दी गरिएको बताउँदै उहाँले देशी विदेशी शक्तिले मोर्चाबन्दी गरेर सरकार ढाले पनि एमाले नेतृत्वको सरकारले ९ महिनैमा देश विकासका लागि यथेष्ट नीति तथा कार्यक्रम ल्याउन सफल भएको दाबी गर्नुभयो। उहाँले एमालेसँग मात्रै नीति र एजेण्डा भएको दाबी गर्नुहुँदै अन्य दलहरू एजेण्डा विहीन भएकै कारण देशीविदेशी शक्तिले खेल्ने मौका पाएको भन्दै उहाँले भन्नुभयो– ‘यदि एमाले हुँदैनथ्यो भने नेपालको टाउकोमा क–कसले टेक्थे टेक्थे।’

एमालेलाई मधेसमा प्रवेश रोक लगाउनेजस्ता अभिव्यक्तिहरूको कटाक्ष गरेका अध्यक्ष ओलीले मधेसी दलका नेताहरूलाई आवेशयुक्त र उत्तेजक कुरा नगर्न आग्रह गर्नुभयो।

अहिले नेपालका दलहरू एमालेसँग उम्भिँदा कम्मरतिर मात्र आइपुग्छन् भन्दै नेता ओलीले अहिलेको अवस्थामा एमाले पहिलो पार्टी भएको जिकिर गर्नुभयो।

बुढो अवस्थाको कांग्रेस वैचारिकरूपमा शिथिल हँुदै गएको टिप्पणी गर्दै ओलीले एमालेले एकछिनमा गर्ने निर्णय कांग्रेसले दुई महिनामा पनि नगर्दा लोकमानसिंह कार्कीलाई संसद्ले भन्दा अघि उडाइदिएको टिप्पणी गर्नुभयो। मधेस केन्द्रित दलका नेतालाई आफ्नो नेतृत्वको सरकार हुँदा विकासको माग गर्न बारम्बार आग्रह गर्दा पनि नसुनेको तर तराईमा भ्रम मात्रै फैलाएर बसेको भन्दै उहाँले भन्नुभयो– ‘मधेस मधेस भनेर चिच्याउने ४ जना नेता मात्रै छन्। तराई मधेसका जनता विकास चाहन्छन्।’

नेकपा एमालेले ९ महिने सरकारको पालामा ल्याएका देशविकासका कार्यक्रम र छुटइएको बजेटले हरेक नेपालीले एमालेलाई राम्ररी बुझेको उहाँको भनाइ छ। एमालेसँग देशलाई समृद्धितर्फ लैजाने क्षमता र योजना रहेको दाबी गर्दै उहाँले आफ्नो सरकारले ल्याएको योजनाहरूको उद्घाटन गर्दै वर्तमान सरकारको वर्षौंवर्ष बित्न सक्ने बताउनुभयो। यही कारण झस्किएर एमाओवादी र कांग्रेसले सरकार ढालेको उहाँको आरोप छ।

पूर्वपश्चिम विद्युतीय रेल, हुलाकी राजमार्गमा चार अर्ब २० करोड बजेट छुटइइएको, मधेसका सदरमुकाम जोड्ने सडक निर्माणमा प्राथमिकता दिएको, मधेसमा १० वटा स्मार्ट सिटी बनाउने योजना ल्याइएको, सबै प्रदेशमा कृषि जोनको स्थापना गर्ने योजना तथा कार्यक्रम आफ्नो सरकारले शुरू गरेको स्मरण गर्दै उहाँले भन्नुभयो– ‘केपी ओलीले विद्युतीय रेल कुदाउने भयो भन्दै उडाए तर अध्ययनको काम शुरू भइसकेको छ, रेल त कुद्छ कुद्छ।’

नेकपा एमालेका सचिव भीम आचार्य, योगेश भट्टराई, पोलिटब्युरो सदस्य लालबाबु पण्डितलगायतका नेताहरूले अधिवेशन सफलताको शुभकामना दिए। विराटनगरस्थित वीरेन्द्रसभागृहमा सोमबार उद्घाटन समारोह सम्पन्न भएको अधिवेशनको बन्द सत्र भने अतिथि सदनमा हुनेछ।

प्रतिक्रिया दिनुहोस्