मृगौलापीडितलाई सहयोग जारी



नेपाल समाचारपत्र
काभ्रे
दुवै मृगौला फेल भएर उपचाररत काभ्रे चण्डेनीमण्डनका विशाल नेपाललाई स्वदेश तथा विदेशबाट आर्थिक सहयोग आउने क्रम जारी छ। हालसम्म करिब ४ लाख जति संकलन भइसकेको छ। उपचारका लागि १५ लाख लाग्ने अस्पताल स्रोतले जनाएपछि अहिले विभिन्न ठाउँबाट विशाल नेपाल बचाउ अभियान सञ्चालन गरी आर्थिक संकलन गरिरहेको पाइएको छ।

यसै क्रममा यस अभियानअन्तर्गत हिरो–भुटानको नामबाट अमेरिका निवासी भीम गुरुङ र माया गुरुङले व्यक्तिगतरूपमा अमेरिकी डलर ५ सय ५ सहयोग गर्नुभएको छ। जुन नेपाली रुपियाँ ५४ हजार ५ सय ४० हुन आउँछ। यो अहिलेसम्मकै ठूलो व्यक्तिगत सहयोग हो। अमेरिकामा मात्र विशालको सहयोगार्थ करिब १ लाख ४० हजार सहयोग जुटेको त्यहाँबाट देवेन्द्र नेपालले जानकारी दिनुभएको छ।

त्यस्तै दुबईबाट त्यहाँ रहेका नेपालीले २६ हजार १ सय ९५ संकलन गर्नुभएको छ। यसै गरी मलेसियाबाट करिब ३५ हजार सहयोग संकलन भएको त्यहाँबाट विमल पौडेलले जानकारी दिनुभएको छ। यूकेबाट २० हजार संकलन भएको र कोरियाबाट करिब ५० हजार जति सहयोग संकलन भएको त्यहाँबाट तेजप्रसाद दाहालले जानकारी दिनुभएको छ। साउदीबाट पनि सहयोग जुट्नेक्रम जारी रहेको खबर आएको छ।

काभ्रेको कुन्ताबेंसीबाट स्थानीय शिक्षक कृष्णकुमार श्रेष्ठले पनि विशाल नेपाल बचाउ अभियान सञ्चालन गर्नुभएको छ। उहाँले व्यक्तिगत १० हजार रुपियाँ सम्बन्धित व्यक्तिलाई हस्तान्तरण गरी अरूसँग पनि सहयोग जुटाउन सक्रिय भएर लाग्नुभएको छ।

उहाँको पहलमा कुन्ताबेंसीबाट स्थानीय विद्यालय र सहकारीमार्फत् करिब ५० हजार जति संकलन हुने अनुमान गरिएको छ। जसमध्ये १५ हजार संकलन भइसकेको श्रेष्ठले जानकारी दिनुभयो। सिउडेनीटारका राजीव सापकोटाले पनि अभियान चलाइरहनुभएको छ। काभ्रे जिल्ला क्षेत्र नं. ४ का सांसद विदुर सापकोटाले पनि व्यक्तिगतरूपमा १० हजार सहयोग गरी अभियानमा साथ दिने बताउनुभएको छ।

यसै गरी अभियानअन्तर्गत नै गतहप्ता ५४ जनाबाट संकलित रकम १ लाख २४ हजार विशाल नेपालकै निवास पेप्सिकोलामा पुगेर संयुक्तरूपमा हस्तान्तरण गरिएको थियो।

प्रतिक्रिया दिनुहोस्