लालमुनीको हत्या भएको आरोप



सञ्जय कार्की, गौर, रौतहट
घार महिनाअघि दाम्पत्य जीवनमा बाँधिएकी आफ्नी छोरीको ज्वाइँपक्षले हत्या गरेको आरोप माइती पक्षले लगाएका छन्। फतुवामहेशपुर गाविस–१ निवासी सन्तोषकुमार साहको २१ वर्षीय श्रीमती लालमुनी कुमारीको शनीबार शंकास्पद मृत्यु भएको विषयलाई लिएर माइती पक्षले हत्या भएको दाबी गरेका छन्।

शुक्रबार राती नै घरमा सुतिरहेकी आफ्नी छोरी लालकुमारीको ज्वाइँसहित परिवारका सदस्यले घाँटी थिचेर हत्या गरेको आरोप बुबा किशोरी साहले लगाएका छन्। बुहारीको पेट दुखेको भन्दै शनिबार बिहान एम्बुलेन्समा राखेर उपचार गराउन वीरगन्जतर्फ लैजाने क्रममा एम्बुलेन्सका चालकले निजगढमा शंका लागि हेर्दा पहिलेनै मृत्यु भइसकेको देखेपछि एम्बुलेन्स फर्काएर ल्याएको मृतकको दाइ जयप्रकाश साह सोनारले बताए।

२०७२ फागुन २१ गते सन्तोषकुमार साहले भारत पूर्वी चम्पारण जिल्ला जटौलिया निवासी किशोरी साहको छोरी लालमुनीसँग मागी विवाह गरेका थिए। विवाहमा दाइजोबापत १० लाख भारतीय रुपियाँ दिए पनि निजी क्लिनिक खोल्न भन्दै ज्वाइँले पुनः ५ लाख माग्दैआएको उनका दाजु जयप्रकाश साहले बताउनुभयो।

उक्त रकम नदिए परिणाम नराम्रो हुने चेतावनीसमेत ज्वाइँले दिँदैआएको उनले बताए। साह पेसाले डेन्टिस हुन्। जिल्ला अस्पताल गौरमा महिलाको शव माइती पक्षको रोहवरमा पोस्टमार्टम गरिएको छ। रिर्पोट भने आउन बाँकी रहेको छ।

प्रहरीले मृतक महिलाको ससुरा राजेन्द्र साहलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको छ। भने श्रीमान् सन्तोष साह सम्पर्कविहीन रहेका छन्। उनको खोजी भइरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ। जिल्ला प्रहरी कार्यालय रौतहटका प्रहरी निरीक्षक वीरेन्द्र पासवानले घटनाको अनुसन्धान भइरहेको बताए।

प्रतिक्रिया दिनुहोस्