धुर्मुस सुन्तलीले शुरू गरे मुसहर बस्ती निर्माण



धुर्मुससुन्तली फाउन्डेसन तेस्रो एकीकृत नमुना बस्तीस्वरूप महोत्तरीको बर्दिवासमा निर्माण गर्न लागेको बस्तीको सोमबार शिलान्यास गरिएको छ। फाउन्डेसनले एक भव्य समारोह आयोजना गरी महोत्तरी, बर्दिवास नगरपालिका–२ स्थित मुसहर बस्तीमा नमुना बस्तीको शिलान्यास गरेको हो। ख्यातिप्राप्त हास्य अभिनेताद्वय हरिवंश आचार्य र मदनकृष्ण श्रेष्ठ तथा गंगासागर सरसफाइका अभियन्ता रामआशिष यादवले संयुक्त रूपमा बस्तीको शिलान्यास गरेका हुन्।
बस्ती शिलान्यासका लागि हास्य कलाकारहरू मनोज गजुरेल, किरण केसी, जितु नेपाल, सुरेन्द्र केसी, शिवशंकर रिजाल, राजाराजेन्द्र पोखरेल, कुमार कट्टेल, अर्जुन घिमिरे, गायिका मान्डवी त्रिपाठीलगायत मुसहर बस्ती पुगेका थिए।

कार्यक्रममा बोल्दै हास्य अभिनेता हरिवंश आचार्यले सीताराम कट्टेल नेपाल आमाको सपुत भएको बताए। ‘यो भन्दाअघि सीताराम कुञ्जनाको जोडीले पहाडमा खुसी छाउने काम गर्यो’ –उनले भने, ‘अहिले मुसहर बस्तीमा उज्यालो छर्दै छन्। यो सँगसँगै देशमा खुसी छरून्।’ त्यस्तै मदनकृष्ण श्रेष्ठले धुर्मुस सुन्तलीले राजनीतिक दलहरुलाई चुनौती दिएको प्रतिक्रिया दिए। ‘पदमा बसेकाहरूले काम गरिदिएको भए देश यस्तो हुँदैनथ्यो’ उनको भनाइ थियो। त्यस्तै सीताराम कट्टेलले आफूले देशप्रतिको उत्तरदायित्व निभाएको बताए। ‘म पहिलोपल्ट पूर्वपश्चिम राजमार्ग सरसफाइका लागि यहाँ आइपुग्दा निकै भक्कानिएको थिएंँ। मुसहर बस्तीको पीडा, दुःख र गरिबीले एकीकृत नमू्ना बस्ती बनाउन पोलिरह्यो’ उनले भने । त्यसै गरी कुञ्जना घिमिरे मुसहर बस्तीमा खुसीयाली छर्न पाउँदा आफूहरू खुसी भएको र सबैको सहयोगले बस्ती बन्ने विश्वास व्यक्त गरिन्। यसै गरी अभियन्ता यादवले मुसहर बस्ती तराईपहाडबीच सद्भाव जोड्ने कोशेढुंगाको काम भएकोमा धुर्मुस, सुन्तलीलाई धन्यावाद दिए। ‘यो तराईपहाडमा सद्भाव छर्ने काम हो’ उनको भनाइ थियो।

४ करोड ७८ लाख लागतमा बन्ने बस्ती अपांगमैत्री र बालमैत्री हुनेछ। नमूना बस्तीमा ५० वटा घर एक सामुदायिक भवन, एक बालउद्यान र एक मन्दिरसमेत निर्माण गर्ने धुर्मुसले जानकारी दिए। यसअघि हस्तान्तरण गरिएको गिरानचौर एकीकृत बस्ती निर्माणबाट बचेको एक करोड तीन लाख रुपियाँबाट निर्माण प्रारम्भ गरिएको उनको भनाइ छ। बस्ती निर्माणका लागि कतार निवासी व्यवसायी तथा समाजसेवी प्रकाश कोइरालाले ४० लाख रुपियाँ प्रदान गरेका छन्। त्यस्तै पूर्वमन्त्री तथा सांसद् गिरिराजमणि पोखरेलले १० लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन् भने मह जोडीले एक लाख रुपियाँ सहयोग गर्ने घोषणा गरेका छन्। शिलान्यास कार्यक्रममै कलाकार किरण केसी र पत्रकार राजकरण महतोले १० हजार रुपियाँ सहयोग गरेका छन्।

शिलान्यास कार्यक्रममा मुसहर समूदायले कलाकारहरूलाई फूलमालाले भव्य स्वागत गरेका थिए। कार्यक्रममा सहभागी हुन कठमाडौंबाट आएका कलाकारहरूको स्वागतार्थ, महिला, केटाकेटी र वयोवृद्धसमेत हातमा फूलमाला बोकेर बिहानैदेखि लामबद्ध भएका थिए। बस्ती आगामी वैशाख १ गते हस्तान्तरण गर्ने फाउन्डेसनको लक्ष्य छ।

प्रतिक्रिया दिनुहोस्