गोल्डेन ग्लोबमा मनोनयनमा परेका सातै विधालाई अवार्ड



हलिउडमा रोमान्सको दाड ताजा गर्ने संगीतले सजिएको फिल्म ला ला ल्यान्डले गोल्डेन फिल्म ग्लोब फिल्म अवार्डमा पनि जादु देखाएको छ। ७ विधाको मनोनयनमा परेको फिल्मले ती सबै विधाको अवार्ड चुमेको छ।

डैमियन चेजको निर्देशनमा बनेको फिल्मले सर्वोत्कृष्ट संगीत र कमेडीसहित ७ विधामा अवार्ड पायो। जसमा सर्वोत्कृष्ट अभिनेताका रूपमा रयान गोस्लिङ र अभिनेत्रीमा एम्मा स्टोन पनि यसै फिल्मबाट शामेल थिए। चैज आफैंले सर्वोत्कृष्ट निर्देशक र स्क्रिनप्लेको ट्रफि लिएर ओस्कारको लागि आफ्नो अवसर मजबुत बनाएका छन्। गोस्लिङले भावुक सम्बोधनबीच सहयोगका लागि आफ्नी श्रीमती इवा मेन्टेजलाई सम्झिए। यो फिल्मले संगीत र हास्य फिल्मतर्फको अवार्ड पनि चुमेको छ। त्यस्तै एम्मा स्टोनले पनि भावुक हुँदै आफ्नो मातापिता र भाइलाई सहयोगका लागि धन्यवाद व्यक्त गरिन्।

यो अवार्डसँगै हलिउडमा अवार्डको मौसम पनि शुरु भएको छ। समारोहमा सर्वोत्कृष्ट सहअभिनेताको अवार्ड अरन टेलर जोन्सनले पाए भने सह अभिनेत्रीको अवार्ड वायोला डेविसले पाएकी थिइन्। टम हिडल्सटनले लिमिटेड सिरिजमा सर्वाेत्कृष्ट अभिनेताको अवार्ड पाए। यसै गरी सर्वोत्कृष्ट विदेशी फिल्मको अवार्ड एले नामक फिल्मले पायो भने सर्वोत्कृष्ट एनिमेटेड फिल्मको अवार्ड जुटोपियाले पायो।

गोल्डेन ग्लोबको इतिहासमा पहिलोपटक अवार्डको शुरूआत संगीतबाट शुरू भएको थियो। जिमि फलोनले कार्यक्रममा सत्कारस्वरूप बहुचर्चित फिल्मको प्यारोडी गीत प्रस्तुत गरेको डान्सले फिल्म समारोह थप रोमाञ्चकारी बनाएको थियो।

सेसिल बि डिमिले अवार्ड पाएपछि अभिनेत्री मेरिल स्ट्रिपले नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पेलाई निशाान गर्दै मञ्चमा दिएको भाषण यस अवार्ड समारोहमा चर्चाको विषय बन्यो। उनले यस वर्षको प्रस्तुति अन्य वर्षको भन्दा फरक भएको बताइन्, जुन अरु कोही अभिनेताको नभई डोनाल्ड ट्रम्पको रहेको बताएकी थिइन्। ट्रम्पको प्रतिद्वन्द्वी हिलारी क्लिन्टनको समर्थक उनले भाषणमा ट्रम्पको नाम त नलिई शक्तिशाली पदमा रहने मानिसहरुले ‘अरुलाई प्रताडित गर्नका लागि पदको दुरुपयोग गर्नेहरुविरुद्ध चेतावनी झल्कने भाषण उनले गरेकी थिइन्। धेरै पुरस्कार जितिसकेकी उनी हलिउडकी सम्मानित हस्ति हुन्।

समारोहमा सर्वोत्कृष्ट सहअभिनेत्रीको अवार्ड जितेपछि वायोला डेविसले आफ्नो पितालाई श्रद्धाञ्जली दिँदै आफ्नो पिताले गरिबीको बाबजुद आफूलगायत भाइबहिनीको लालनपालन गरेका दिनहरु सम्झिइन् भने फिल्म फेन्सेजका निर्देशक तथा सहायक अभिनेतालाई आफूमाथि भरोसा राखेकोमा आभार व्यक्त गरिन्। उनले फेन्सेजमा घरेलु महिलाको भूमिका निर्वाह गरेकी छिन्। यो फिल्म अगस्ट विलसनको पुलिटजर पुरस्कार जितेको नाटक फेन्सेजमा आधारित छ।

प्रतिक्रिया दिनुहोस्