झुक्याएर संशोधन प्रस्ताव टेबुल गरियो–नेता नेपाल



इटहरी, २५ पुस । नेकपा (एमाले)का वरिष्ठ नेता माधवकुमार नेपालले झुक्याएर संविधान संशोधन प्रस्तावलाई संसद्मा टेबल गराउने कार्य आपत्तिजनक भएको बताउनुभएको छ ।

प्रेस चौतारी सुनसरीले इटहरीमा आज आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै वरिष्ठ नेता नेपालले भन्नुभयो, ‘‘सभामुखले झुक्याएर प्रस्ताव दर्ता गराउने काम संसदीय पद्दतिविरुद्ध छ ।’’

उहाँले प्रदेश नं ५ का जनताले नचाहेको र माग नै नगरेको विषय चलाएर सत्ता पक्षले संविधानको व्यवस्थालाई समेत ठाडो रुपमा उल्लङ्घन गर्ने काम गरेको आरोप लगाउनुभयो ।

उहाँले तत्कालीन अख्तियार दुरुपयोग अनुसन्धान आयोग प्रमुख आयुक्त लोकमानसिंह कार्कीको नियुक्तिमा संलग्न नेताहरुले गल्ती भएको स्वीकार गरेको तथ्यले पनि नेताहरुप्रति जनतामा अविश्वास बढ्न थालेको बताउनुभयो ।

वरिष्ठ नेता नेपालले अन्य छिमेकी मुलुकमा नागरिकतासम्बन्धी व्यवस्था निकै जटिल र कडा भएको उल्लेख गर्दै नेपालमा भने जसले जे चाह्यो त्यही अनुकूल सहज ढङ्गले नागरिकता प्राप्त गर्न सक्ने गरी संविधानमा उल्लेख गर्न पाउनुपर्छ भन्ने सवाललाई स्वीकार्न गर्न सकिँदैन भन्नुभयो ।

संविधानका सफल कार्यान्वयनसँगै देशले प्राप्त गरेको उपलब्धिलाई संस्थागत गर्न तथा यसको कार्यान्वयन गराउन लाग्नुपर्नेमा वर्तमान सरकार यो वा त्यो बहाना बनाएर निर्वाचनको मिति तोक्नसमेत हिच्किचाइरहेको टिप्पणी गर्नुभयो ।

उहाँले केही नेताहरुले मधेसको नाममा गरेको राजनीतिकै कारणले चुनाव हुन सक्दैन भन्ने भ्रम रहेको बताउनुभयो ।

कार्यक्रम प्रेस चौतारी सुनसरी अध्यक्ष देवेन्द्र कार्कीको अध्यक्षतामा भएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्