अलपत्र रहेको राजविराज विमानस्थलको निर्माण कार्य शुरु



 

राजविराज, २५ पुस । वर्षौंदेखि अलपत्र रहेको राजविराज विमानस्थलको निर्माण कार्यले तिब्रता पाएको छ ।२०१६ सालमा तत्कालिन यातायात मन्त्री गणेशमान सिंहद्वारा उद्घाटन  गरिएको उक्त विमानस्थलको निर्माण कार्य एक महिनादेखि तीब्र पारिएको हो ।

विमान स्थल निर्माणको ठेक्का कान्छाराम, रमण, देव एण्ड शायर जेभीले लिएपछि मंसिरदेखि निर्माण कार्य शुरु भएको कम्पनीका ईन्जिनियर मणी गोविन्द श्रेष्ठले जानकारी दिएका छन् । भ्याटसहित ३० करोडमा कम्पनीले ठेक्का लिएपछि अहिले माटो र सब बेसको कार्य शुरु गरिएको छ । यसपछि बेस र पिचिङ्गको कार्य गरिने श्रेष्ठले बताए ।

आगामी मंसिरसम्म सम्पूर्ण काम सम्पन्न गर्ने म्याद रहे पनि जेठ महिनाभित्रै काम सक्नकालागि आफूहरु प्रयत्नरत रहेको उनको भनाई छ । ‘पिचिङ्गका लागि चैत्रदेखि जेठसम्मको समय उपयुक्त हुन्छ’ उनले भने ‘हामी त्यस अवधीभित्रै काम पुरा गर्ने प्रयासमा छौं ।’

एक हजार पाँच सय मिटर लामो तथा ३० मिटर चौडा पक्की धावनमार्ग, ६० मिटर चौडा र ९० मिटर लामो एप्रोन तथा एक सय पाँच मिटर लामो र २० मिटर चौडा ट्याक्सी वे निर्माण गरिने इन्जिनियर श्रेष्ठले जानकारी दिए ।

विमानस्थलको स्तरोन्नती पछि नियमित विमान सेवा शुरु हुने र जिल्लाको विकासमा समेत सकारात्मक परिवर्तन आउने सप्तरी उद्योग वाणिज्य संघका अध्यक्ष अरुण कुमार प्रधानको भनाई छ ।

विमानस्थलको स्तरोन्नतीकालागि जिल्ला विकास समिति सप्तरीले छुट्याएको  रु २ करोड बजेटबाट हवाई मैदानको घेरवेर गर्ने काम समेत थालिएको छ । कच्ची धावनमार्ग भएका कारण उक्त विमान स्थलमा नियमित उडान हुन सकिरहेको थिएन । पञ्चायतकालमा काठमाण्डौ र खोटाङ्गको लामी डाँडासम्म विमान सेवा उपलब्ध हुने गरेको यो विमानस्थल करिब एक दशकदेखि पूर्णतः बन्द रहँदैआएको छ ।

प्रतिक्रिया दिनुहोस्