रसुवामा निर्माण सामाग्रीको परीक्षण गर्न ल्याव नहुँदा पुर्ननिर्माणमा समस्या



रसुवा, २५ पुस ।  रसुवामा निर्माण सामाग्रीको गुणस्तर जाँच गर्नका लागि ल्याव नहुँदा पुर्ननिर्माणमा समस्या देखिएको छ ।

बैशाख १२ को विनाशकारी भुकम्पले भत्किएका सरकारी तथा निजी घर पुर्ननिर्माणको काम अघि बढिसकेको अवस्थामा जिल्लामा निर्माण सामाग्रीको जाँच गर्ने ल्याव नहुँदा समस्या देखिएको हो ।

ढुङ्गा, माटो र काठले निर्माण हुने घरमा परिक्षण गर्न नपर्ने भएपनि आरसिसि ढलान घर बनाउँदा सामाग्रीको जाँच गर्नैपर्ने सहरी विकास तथा भवन निर्माण विभाग डिभिजन कार्यालय रसुवाका डिभिजन प्रमुख राजेन्द्र खतिवडाले बताउनुभयो ।

भुकम्पपछि निर्माण भएको सरकारी वकिल कार्यालय र कोष तथा लेखा नियन्त्रकको कार्यालय रसुवाको भवन निर्माण गर्दा कङ्क्रिट क्युव बनाएर काठमाडांैमा जाँच गर्न लगिएको डिभिजन प्रमुख खतिवडाले जानकारी दिनुभयो । खतिवडाले भन्नुभयो– ‘जिल्लामा ल्याव छैन, काठमाडांै जाँदा निकै खर्च लाग्छ, जाँच नगराए अख्तियार, अडिटले समात्ने समस्या हुन्छ’ ।

साना संरचना निर्माण गर्दा समस्या नपरेपनि ठूला संरचना निर्माण गर्दा सिमेण्ट, इट्टा, रड लगायतका निर्माण सामाग्रीको गुणस्तर जाँच गर्नै पर्ने भएकाले निजी घर निर्माणका लागि समस्या देखिएको छ ।

जाँच नगर्दा गुणस्तरहिन सामग्रीको प्रयोग हुने, टिकाउ नहुने समस्या रहेको छ भने जाँच गर्दा ल्यावको लागि काठमाडांै जानुपर्ने वाध्यताका कारण निमार्ण खर्च बढ्ने, समय बढि लाग्ने जस्ता समस्या देखा परेका छन् ।

खतिवडाका अनुसार ल्याव स्थापनाका लागि पहल भैरहेको र चैत मसान्तसम्ममा जिल्लामा नै ल्याव स्थापना गर्ने गरी कार्य अघि बढेको छ ।

प्रतिक्रिया दिनुहोस्