साक्षरता कार्यक्रमबाट एक हजार ७०० किसान लाभान्वित



पाल्पा, २५ पुस / पाल्पामा सञ्चालन भएको व्यावसायिक साक्षरता कार्यक्रम किसानमाझ प्रभावकारी बनेको छ ।

नेपालमा युएसआइडीको सहयोगमा सञ्चालन भएको व्यावसायिक साक्षरता कार्यक्रमबाट एक हजार ७१३ जना किसान लाभान्वित भएका छन् ।
सामान्य लेखपढ गर्न नसक्ने किसान नेपाली अक्षर लेख्न र पढ्न सक्ने भएका छन् ।

पाल्पाको रामपुर नगरपालिका, गल्धा, हुँगी, नायरनम्तलेस, पालुङमैनादी, चिदिपानी, चिर्तुङधारा, पोखराथोक, खस्यौली, मस्याम, तेल्घा गाविसमा ६६ वटा किसान समूह गठन गरेर साक्षरता कार्यक्रम सञ्चालन गरिएको हो ।
पाँच कक्षाभन्दा कम पढेका १६ वर्षदेखि ६० वर्ष उमेर समूहका २१४ पुरुष र एक हजार ४९९ महिला किसान साक्षर बनेका हुन् ।

एक वर्षसम्म सञ्चालन भएको साक्षरता कार्यक्रमबाट किसानले सामान्य लेखपढ, आफ्नो व्यवसायको हरहिसाब गर्न सक्ने भएका छन् ।
अरुका अगाडि उठेर बोल्न र हस्ताक्षर गर्न नसक्ने रामपुरकी ५२ वर्षीया भगवती देवकोटाले हिजोआज नेपाली अक्षर राम्रोसँग पढ्न र लेख्न सक्ने हुनुभएको छ । साक्षरता कार्यक्रमबाट गाउँघरमा हुने विभिन्न कार्यक्रम, गोष्ठी, सभा समारोहमा निर्धक्कसँग बोल्न सक्ने भएका छन् ।

“लेखपढ गर्न नजान्दा सामान्य हिसाब किताबमा ठगिनु पर्दथ्यो, अहिले यी समस्याबाट मुक्त भएको छु” ५८ वर्षीया डेमा देवकोटाले भन्नुभयो । उहाँले घरमा बसेर लेखपढ गर्न थालेपछि परिवार र छिमेकी दङ्ग छन् ।

सामान्य लेखपढ, जीवन उपयोगी सिप, उद्यमशीलता सिप, कृषि, पशुपालन, बजारीकरण, बालबालिका, महिला र गर्भवतीको पालनपोषण, स्याहारसुसार, आम्दानी र बचतका कुरा किसानलाई सिकाइएको साक्षरता कार्यक्रमका अनुगमनकर्ता शिवहरि डोटेलले बताउनुभयो । रासस

प्रतिक्रिया दिनुहोस्