होटलको जग खन्दा सडक भासियो



नेपाल समाचारपत्र
काठमाडौं
राजधानीको मध्यक्षेत्र नक्सालमा निर्माणाधीन एक होटलको जग खन्दा निर्माण हुने भवनसँगैको मुख्य सडक भासिएको छ। सडक पूर्णरूपमा क्षतिग्रस्त भएपछि भवगती वहाल–थिरबम सडकको आवागमन प्रत्यक्ष प्रभावित बनेको छ।

शंकर ग्रुपले निर्माण अघि बढाएको होटल हिलटनको जग खन्ने क्रममा आइतबार बिहान सवा ६ बजेको आसपासमा सो क्षेत्रको सडक करिब ४० फिट भासिएको छ। सडक भासिएपछि होटल क्राउन प्लाजासहित करिब १ दर्जन घर असुरक्षित भएका छन्। बिहान सबेरै सडक भासिएकाले मानवीय क्षति नभए पनि वरिपरिका घर असुरक्षित बनेको स्थानीय नवीन्द्रमान श्रेष्ठले बताउनुभयो। ‘बिहानैको घटना भएकाले संयोगले ठूलो मानवीय क्षति हुन पाएन। हामी असुरक्षित भएका छौं। तर अब ढुक्कले घरमा सुत्ने वातावरण भएन।’ –उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो।

श्रेष्ठका अनुसार करिब ३ साता अघिदेखि नै मूल सडक चर्किएको र लच्किएको थियो। सम्भावित क्षतिको पूर्वसंकेत देखिए पनि होटलले त्यसबारेमा चासो नदिएको र एक पक्षीय ढंगले आफ्नो काम अघि बढाएको श्रेष्ठसहित अन्य स्थानीयको आरोप छ। आइतबार दिउँसोसम्म पनि सडक भत्किने क्रम जारी रहेपछि शंकर ग्रुपले क्रेन झिकाएर निर्माण सामग्री अन्यत्र सारेको थियो। सडक भासिएपछि सो क्षेत्र र आसपासको सवारी आवागमन दिनभर प्रभावित बनेको थियो। सवारी व्यवस्थापन तथा क्षतिको अवस्था बुझ्न जम्मा भएको भीड नियन्त्रण र सम्भावित मानवीय क्षति रोकथामका लागि कमलपोखरी वृत्तबाट प्रहरी टोली खटिएको थियो।

यसैबीच शंकर ग्रुपले क्षतिग्रस्त सडक पूर्णरूपमा निर्माण⁄मर्मत गर्ने र जोखिममा रहेका घर परिवारको माग सम्बोधन गर्ने जनाएको छ। ग्रुपका उपाध्यक्ष सुशील श्रेष्ठसहित अन्य पदाधिकारी र स्थानीय बासिन्दाबीच आइतबार दिउँसो र बेलुका २ पटक द्विपक्षीय छलफल भएको थियो। सडक मर्मतमा प्रस्ट वचन दिएको ग्रुपले जोखिममा रहेका घरको सवालमा भने प्रस्ट भनाइ अझै नराखेको अर्का स्थानीय सरोजमान अमात्यले बताउनुभयो। उहाँले भन्नुभयो– ‘शंकर ग्रुपले वरिपरिका घरको भौतिक क्षति भएमा मर्मत गर्ने भनेको छ, हामीलाई मौखिक प्रतिबद्धता मात्र गरेर हुँदैन, लिखित प्रतिबद्धता जनाउनुपर्छ, जुनसुकै बेला मानवीय क्षति हुन सक्छ।’

प्रतिक्रिया दिनुहोस्