बन्दिपुरमा ड्रिम गर्ल



(विदुर गिरी⁄बन्दिपुर) प्राकृतिक सुन्दरताले भरिपूर्ण बन्दिपुर आन्तरिक र बाह्य पर्यटकको चहल पहलले अझै सुन्दर बनिरहेको छ। डाँडैडाँडाले घेरिएको बन्दिर बजारबाट थोरै माथि गएपछि बाँदर पनि लड्ला कि जस्तो विशाल डाँडा भेटिन्छ। सधैं सुनसान हुने यो डाँडा शनिबारको दिन भने मानिसको भीडले भरिएको छ। यस्तो बाँदर लड्ने भिरालो डाँडामा पनि गीत बजिरहेको छ र त्यसकै तालमा नाचगानसमेत भइरहेको छ।

वास्तवमा त्यो भिरालो डाँडामा एउटा गीतको म्युजिक भिडियोको सुटिङ चहिलिरहेको थियो। ड्रिम गर्ल नाम राख्ने सोच। दुबई ३ वर्ष। नुवाकोट काहुले
तिमले नहेरे नि म त हेरिरहन्छु
सपनीमा सधैं सधैं तिमीलाई देखिरहन्छु
मायाको गीत गाइरहुँ मायालाई भेट्न आइरहुँ
माया गरौं तिमीलाई म हरपल
मेरी ड्रिम गर्ल ए मेरी मेरी ड्रिम गर्ल।


रोजगारको सिलसिलामा यूएईको दुबईमा बस्दै आएका गायक महेन्द्रमान तामाङको स्वरले सजिएको यो एकल गीतको म्युजिक भिडियोका लागि नृत्य र मोडलिङ भने विकास फिरोज र सन्ध्या भट्टराईको जोडीले गरिरहेको थियो। अप्ठइरो भीरमा पनि विकास स्टेपमाथि स्टेप दिएर नृत्य प्रस्तुत गरिरहेका थिए भने उनलाई पछ्याउँदै थिइन् सन्ध्या भट्टराई। विकासको लिप्सिङ अनि सन्ध्याको अदाले गीतको भिजुलाइजमा आकर्षण थपिरहेको थियो।

सुटिङस्थल अप्ठेरो थियो। काम गर्न कठिनाइ थियो। यस्तो असहज वातावरणका बीच म्युजिक भिडियोका निर्देशक तथा कोरियोग्राफर दीपेन्द्र तिमल्सिना ‘बालक’ भने रुखको मुढो समाएर भए पनि एक्सन कट गरिरहेका थिए। यस्तै अप्ठेरो स्थानमा बसेर क्यामराम्यान नवराज उप्रेती फ्रे बनाइरहेका थिए।


‘अरू कुरा त त्यस्तै हो। प्राविधिकहरूले जस्तै कठिनाइमा पनि काममा उत्कृष्टता दिन कुनै कसर बाँकी राख्दैनन् भन्ने कुरा आजको यो सुटिङले प्रमाणित गरिहेको छ’, सो म्युजिक भिडियोको उत्पादक कम्पनी निर्भाना कला केन्द्रका अध्यक्ष रमेश श्रेष्ठ भन्दै थिए– ‘हेर्नुस् त यस्तो गाह्रो ठाउँमा पनि टेक्निसियनहरूले मानव बलको आधारमा जोनी जिप ल्याएर फिट गरिछोडे।’ उता मोडल विकास अप्ठेरो परिस्थितिको चुनौतीका बीच गीतको मागअनुसार स्टेप दिनुको मज्जा बेग्लै हुने अनुभव सुनाइरहेका थिए। ‘सजिलो ठाउँमा त जसले पनि काम गर्छ नि’, विकास भन्दै थिए– ‘यस्तो अप्ठेरो डाँडापाखामा काम गर्नुको मज्जाचाहिँ जो–कसैले पाउँदैन।

उता निर्माण नियन्त्रक विरेन लामा भने दुःख गरिएअनुसार म्युजिक भिडियो सुन्दर बन्नेमा ढुक्क थिए। गायक महेन्द्रमान तामाङ भने गीत सँगसँगै म्युजिक भिडियो पनि राम्रो बनेकोमा दंग थिए। ‘म एउटा सौखिन गाएक हुँ। यो मेरो जम्माजम्मी तेस्रो गीत हो। तर, जतिले सुन्नुभयो, सबैले मन पराइदिनुभयो। बन्दिरपुरसम्म आएर गरिएको म्युजिक भिडियो पनि सोचेभन्दा राम्रो बनेको छ’, एल्बम तयार पार्नका लागि केही दिनको छुट्टी लिएर नेपाल आएका गायक तामाङले भने– ‘त्यसैले यो गीतबाट आशा त पलाएको छ नै। थप गीत ल्याउने ऊर्जा पनि बढेको छ। अब योसहित ४ गीत राखेर यही गीतको बोल ड्रिम गर्लका नाममा एल्बम ल्याउने सोच बनाएको छु।’


काठमाडौंबाट मध्यरातको यात्रा तय गरी केवल एक दिनको सेड्युल बोकेर बन्दिपुर आइपुगेको टोलीले बिहानदेखि राति ८ बजेसम्म काम गरेर शनिबार नै फर्किए पनि बन्दिपुरका सुन्दर दृश्यहरू क्यामरामा कैद गर्न सफल भएको छ। बन्दिपुर प्रवेश गर्नासाथ भेटिने पर्यटकको आकर्षण केन्द्र सानो तर सुन्दर बजारमा युनिटले लामो समय लगाएर सुन्दर दृश्यहरू कैद गर्यो। विकास र सन्ध्याले जोनी जिप सटका लागि साइकल चलाएर आकर्षक दृश्य दिँदै गर्दा आन्तरिक पर्यटकहरूले घरी सुटिङ त घरी बजारतिर नजर लगाएर भन्दै थिए– ‘युरोपभन्दा कम छैन।’ एक स्थानीय वृद्धा भन्दै थिइन्– ‘अहिलेसम्म बन्दिपुरमा खिचिएका सबै फिल्म हिट भएका छन्, यो पनि हुन्छ।’ निर्देशक तिमल्सिनाको नेतृत्वको टोलीले छोटै समयमा पनि बन्दिपुरका आकर्षक होटलदेखि मनोरम दृश्यहरूसम्मलाई कैद गरिरहेको थियो। बर्थडे केक काट्नेदेखि लिएर क्याम्प फायरसम्मको दृश्य एउटै भिडियोमा अटाएको थियो।

महेशविक्रम पाण्डेको गीत रचना र संगीत र एरेन्जमेन्ट रहेको गीतको भिडियो चाँडै नै बजारमा ल्याइने निर्भानाका अध्यक्ष रमेश श्रेष्ठले जानकारी गराए।

प्रतिक्रिया दिनुहोस्