जलवायु परिवर्तनबाट सिर्जित समस्या



(सुदर्शन अधिकारी) समयको अन्तरालमा पृथ्वीको वायुमण्डलको तापक्रम, हावाको बहाव र वर्षातमा हुने घटवढका कारण पृथ्वीको कुनै भागमा मौसममा आउने परिवर्तनलाई जलवायु परिवर्तन भनिन्छ। पृथ्वीको वायुमण्डल नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड जस्ता ग्यासहरू मिलेर बनेको हुन्छ। यी मध्ये कुनै ग्यासमा बढी ताप सञ्चित गरेर राख्ने क्षमता हुन्छ भने कुनैमा कम मात्रै। यसका कारण माथि उल्लेख गरिएका नाइट्रोजन, अक्सिजन, कार्बनडाइअक्साइड ग्यासको मात्रा बढ्ने वा अनुपातमा परिवर्तन आउने हुन्छ। यसो भएमा वायुमण्डलमा रहेको ग्यासमा पनि परिवर्तन हुन्छ। पछिल्लो तथ्यांकअुनसार पृथ्वीको वायुमण्डलमा कार्बनडाइअक्साइड कार्बनमनोअक्साइड, मिथेनजस्ता ग्यासको मात्रा बढ्दै गएको देखिन्छ। यी ग्यासले पृथ्वीबाट अन्तरिक्षमा फिर्ता हुने विकिरणलाई अवरुद्ध गर्दछन्।

अर्को शब्दमा बुझ्नुपर्दा यी ग्यासले केही विकिरणलाई आफैंले सोसेर राख्छन् भने केही पृथ्वीतिर फर्काइदिन्छन्, जसले गर्दा पृथ्वीले प्राप्त गर्ने सौर्य विकिरणभन्दा अन्तरिक्षमा फिर्ता जाने विकिरण कम हुन्छ। यसै प्रक्रियाले गर्दा पथ्वीको वायुमण्डलको ताफक्रम बिस्तारै बढ्दै गएको छ। अध्ययनअनुसार हरेक वर्ष पृथ्वीको तापक्रम ०.०६ डिग्रीको दरले बढ्दै गएको छ। तापक्रमको वृद्धिले पृथ्वीको ध्रुवीय क्षेत्रको हिउँ पग्लने क्रममा वृद्धि भएको छ। यसले गर्दा समुद्रको पानीको तापक्रम बढ्न गई समुद्रको पानीको आयतनलाई बढाएको छ। यसै कारणले समुद्रीतटको भूमि र बस्तीलाई असर पुर्याएको छ। हिमाली भागमा तापक्रम वृद्धिकै कारणले हिउँ पग्लने क्रममा वृद्धि आएको छ। यसबाट पृथ्वीमा पानीको सन्तुलन बिग्रन गई सबै प्राणीहरूको जीवनमा नकारात्मक असर पर्दै गएको देखिन्छ। समुद्री तहको पानीको तापक्रम बढेकोले उक्त क्षेत्रको जैविक विविधतामा ह्रास आई त्यहाँको जीवजन्तुमा नकारात्मक असर परिरहेको छ। वायुमण्डलको तापक्रम बढ्नाले मौसमअनुसार फुल्ने फूलहरू साबिकभन्दा अगाडि नै फुल्न थालेका छन्। वसन्त ऋतुमा चराहरूले चाँडै अण्डा पार्न र चल्ला कोरल्न थालेका छन्। यसबाट तिनीहरूको खाद्यचक्रमा असर परिरहेको छ।
यसका कारण सिंगो पारिस्थितिक प्रणाली नै जोखिममा पर्न सक्ने खतरालाई बढाएको छ। उच्च तथा चिसो स्थानको तापक्रम बढ्न जाँदा समथर तथा गर्मी स्थानमा मात्र पाइने झिँगा, लामखुट्टेजस्ता रोगवाहक कीराहरू ती उच्च स्थानमा पुग्न थालेकाले उच्च हिमाली भेगमा समेत रोगको महामारी फैलिने क्रम बढेर गएको छ। कृषि तथा पशुपालन क्षेत्रमा पनि नयाँ–नयाँ वनस्पति र कीराहरूको प्रकोपले नकारात्मक असर परेको र अझै त्यस्ता असर बढ्न सक्ने सम्भावना देखिन्छ। होचो तथा न्यानो भूभागमा हुने जैविक विविधताको बासस्थान बिस्तारै उच्च तथा चिसो क्षेत्रमा स्थानान्तरण हुँदै गएको छ।

जलवायु परिवर्तनकै कारणले हिमाली क्षेत्रको जैविक विविधताको बासस्थानमा प्रतिकूल प्रभावका कारण लोप हुने अवस्थामा पुगेका छन्। पृथ्वीको तापक्रमले औसत वर्षामा पनि परिवर्तन ल्याएको छ। भूमध्य क्षेत्रमा वर्षाको मात्रा घटेको छ भने ध्रुवीय क्षेत्रमा वर्षाको मात्रासमेत बढेको छ। यसले गर्दा भूमध्यरेखीय भूभागमा सुख्खा र खडेरीले नकारात्मक असर देखाएको छ। उच्च पहाडी क्षेत्रमा बाढी एव्म पहिरोको जोखिम बढाएको छ, जुन गम्भीर चिन्ताको विषय बनेको छ। त्यस्तै समयमा वर्षा नहुने त कहिले ढिलो वर्षा शुरु भई छिट्टै सकिने, अतिवृष्टि, अनावृष्टि र खण्डवृष्टिको कारण मानव जीवनचक्रमा नकारात्मक प्रभाव पर्न गएको छ।

जलवायु परिवर्तन हुनुका पछाडि मानवको अविवेकीपना नै मुख्य कारण हो। तसर्थ यस समस्याको निराकरणका लागि मानवबाट पहल हुनुपर्छ। तीव्ररूपमा हुँदै गएको जलवायु परिवर्तनलाई कम गर्न तथा परिवर्तित जलवायुमा सहज ढंगले बाँच्न सक्ने वातावरण बनाउन मुख्यतः हाल वायुमण्डलमा रहेको हरितगृह ग्यासको मात्रामा कमी ल्याउनुपर्दछ भने जलवायु परिवर्तनले ल्याएका असरहरूलाई कम गरी त्यसबाट जनजीवनमा आइपर्ने विपत्तिहरू न्युन गरेर जीवन पद्धतिलाई सहज बनाउनुपर्नेछ। हरितगृह प्रभाव कम गर्न वायुमण्डलको तापक्रम वृद्धि गराउने पेट्रोलियम पदार्थ एवम् कोइलाजन्य ऊर्जाको प्रयोगलाई कम गर्नुपर्दछ।

त्यस्तै वनको संरक्षण र संवद्र्धन गरी नाङ्गा जमिनमा वृक्षरोपणद्वारा वायुमण्डलमा कार्बनडाइअक्साइडको मात्रा कम गर्न गम्भीरताका साथ लाग्नुपर्छ। वायुमण्डलको हरित प्रभावलाई कम गरी जलवायुमा सन्तुलन ल्याउन एउटा देशको एक्लो प्रयासले मात्र सम्भव छैन। यसका लागि सारा विश्व नै प्रतिबद्धताका साथ लाग्नुपर्छ। पहिलो प्राथमिकता भूक्षय कम गर्न बाढी–पहिरोमा नियन्त्रण गर्नका लागि वृक्षरोपण गर्ने तथा जलवायु परिवर्तनबाट उत्पन्न हुनसक्ने विपत्तिबारे जनचेतना अभिवृद्धि गरी सुरक्षाको पूर्वतयारीमा जोड दिनुपर्छ। दोस्रो राज्यले जलवायुपरिवर्तनलाई न्यून गर्न राज्यका तर्फबाट अल्पकालीन र दीर्घकालीन योजना निर्माण गरी प्रभावकारी कार्यान्वयन नगर्ने हो भने यो समस्याले विकराल स्वरूप लिंदै जानेछ। केही वर्षअगाडि विश्वको ध्यान जलवायु परिवर्तनबाट सिर्जित समस्यातर्फ केन्द्रित गर्नको लागि सगरमाथाको आधार शिविरको कालापत्थर भन्ने स्थानमा मन्त्रिपरिषद्को बैठक गरेको थियो। मूलतः कार्बन उत्पादन गर्ने ठूला र औद्योगिक राष्ट्रले गर्दा जलवायु परिवर्तन तीव्ररूपमा भैरहेको छ, परिणाम हाम्रो राष्ट्रले भोग्नुपरिरहेको छ। जलवायु परिवर्तनलाई कम गर्न सबै गमभीरतापूर्वक लाग्नुपर्छ।

प्रतिक्रिया दिनुहोस्