मरेपछि स्वर्ग घुमेर फर्किने डाक्टरको अनुभव



सिन मार्टिन, (एक्सप्रेस, लन्डन) चिकित्साशास्त्रअनुसार केवल बीस मिनेट मृत घोषित भइसकेका एक पुरुषले स्वर्ग देखेको र त्यहाँ आफ्ना मृत साथीहरू भेटेको दाबी गरेका छन्। डा. ग्रे वुड नामक व्यक्तिले यस्तो अनौठो दाबी गरेका हुन्। उनी १८ वर्षको उमेरमा आफ्नी बहिनीसँग एक गम्भीर कार दुर्घनामा परेका थिए। त्यतिबेला १६ वर्षीया बहिनी सुसँग घर जाँदै गर्दा डा. वुडको कार अवैध ढंगले पार्क गरिएको एउटा सावारी साधनसँग नराम्ररी ठोकिन पुगेको थियो। सुलाई सामान्य चोटपटक मात्र लागेको थियो।


ग्रेको भने श्वासनली र स्वरनली चकनाचुर हुनुका साथै नाकै उछिटिएको थियो। उनको शरीरका थुप्रै हड्डी भाँचिएका थिए। उनी यति नराम्ररी घाइते भएका थिए कि स्वास्थ्यकर्मी घटनास्थलमा पुग्नासाथ उनलाई मृत घोषित गरियो। आफूलाई ‘जुझारु किशोर’ भन्न रुचाउने वुडलाई करिब ५० वर्षअघिको सो घटना अझै छर्लङ याद छ। टेलिभिजन प्रस्तोता सिड रोथसँग कुरा गर्दै उनले भने– ‘रहस्यमय र अलौकिक थियो। दुर्घटना हुनासाथ साह्रै पीडा महसुस भयो। तर, मर्नासाथ सबै कुरा सञ्चो भयो। त्यसपछि मैले स्वर्गमा पाइला टेकें।

मर्नु भनेको लगाएको लुगा खोलेर एकातिर राख्नुजस्तै पो रहेछ। पृथ्वीमा रहेको मेरो शरीरबाट म निस्कें। एक निमेषमा मेरो जीवनका सबै घटना फिल्मको रिलजस्तै घुमे। त्यसपछि म फनेल आकारको घुमिरहेको बादलभित्र तानिएँ। त्यो बादल झन्–झन् उज्यालो हुँदै गइरहेको थियो। मर्नु र स्वर्गमा पुग्नु यति रमाइलो, आनन्ददायी शान्त र सुन्दर हुँदोरहेछ। अचानक बादल फाट्यो। सामु एउटा विशाल सुनौलो उपग्रह देखें। अन्तरिक्षमा तैरिरहेको यस्तो चिजलाई बाइवलमा स्वर्ग भन्ने गरिन्छ।’

आफ्नो यही अनुभवमा आधारित थुप्रै पुस्तक लेखिसकेका डा. वुडले आफूलाई कम्तीमा ७० फिट अग्लो देवदूतले भेटेको र ५ सय माइल फराकिला ढोकासामु उभिएको पनि बताउँछन्। उनले देवदूतका बारे यस्तो बताए– ‘उनले एउटा तरबार बोकेका थिए। उनको सुनौलो केश हावामा लहराइरहेको थियो। शहरभित्रको अर्को देवदूतको हातमा भने केही पुस्तक थियो। ती दुई देवदूतले केही चिज साटासाट गरेपछि मलाई शहरभित्र पस्ने अनुमति दिइयो।’ उनले त्यसपछि आफूलाई आफ्ना एक जना मित्रले स्वर्गको सयर गराएको बताउँछन्। डा. वुडले भने– ‘मैले त्यहाँ मेरो विद्यालयको बेस्टफ्रेन्डलाई भेटें।’

उनी वनमा घाँस काट्ने मेसिनमा दुर्घटनामा परेर मरेका थिए। उनैले स्वर्ग घुमाए। भगवान्को सिंहासनको करिब ५ सय यार्डअघि ‘नमागे पनि आशीर्वाद छ’ भनी लेखिएको साइनबोर्डले मेरो ध्यान तान्यो। ढोका खोलेर हेर्नासाथ त्यहाँ पर्खालमा लस्करै साँच्चैका खुट्टाहरू झुन्ड्याइएको देखेर छक्क परें। हेर्दै जाँदा त्यहाँ सम्पूर्ण मानव अंग राखिएको पाएँ। भगवान्लाई कसैको ज्यान चमात्कारपूर्ण ढंगले बचाउनका लागि ती अंगहरू काम आउने रहेछ।’
अहिले संयुक्त अधिराज्यको टेक्सासका इभान्जेलिकल मिनिस्टर बनेका डा. वुडले रोथलाई आफूले स्वर्गमा जिससलाई पनि भेटेको बताएका छन्। उनले भने– ‘स्वर्ग वास्तविक हो भनी मानिसलाई बताउन मलाई फर्काइएको हो। एउटा गीत गाउनुपर्छ, एउटा पुस्तक लेख्नुछ र मेरो पृथ्वीमा अनुपम उद्देश्य बाँकी रहेको भन्दै फर्काइएको हो। जिससले मलाई पृथ्वीभरि अध्यात्म पुनस्र्थापना हुने र प्रवचन र प्रार्थनाको महत्त्व हुनेछ भन्ने सन्देश दिएका थिए।’

पृथ्वीमा फर्किंदा उनकी बहिनी ग्रे ब्युँतिने आशामा उनको नाम लिएर चिच्याउँदै थिइन्। उनले आफू र आफ्नो साथीले स्वर्गमा पनि बहिनीको चिच्याहट सुनेको बताउँछन्। उनले भने– ‘स्वर्गको सयर गराउने बेला नै मेरो साथीले मलाई फर्किनुपर्ने र मेरी बहिनीले बोलाइरहेको बताएका थिए। त्यसैले म पुनः आफ्नो शरीरभित्र प्रवेश गरें।’

तिनीहरूले मेरो शरीरमा जीवनको संकेत देख्नासाथ अस्पतालतर्फ दौडाए। हाल टेक्सासको सुगर ल्यानडमा आफ्नी पत्नी डिनासँग जीवन बिताइरहेका डा. वुडले सन् १९६६ को २३ डिसेम्बरमा यस्तो अद्भूत अनुभव हासिल गरेका थिए। बहिनी सुसँग क्रिसमस गीत गाएर न्युमेक्सिकोको फार्मिङटनस्थित राति घर फर्किंदै गर्दा उनको कार लेनमा रोकिराखेको एउटा ट्रकसँग ठोकिएको थियो।

प्रतिक्रिया दिनुहोस्