मन्त्रालय नबोल्दा क्रसरको अवैध धन्दा



हेटौंडा, (नेस) मकवानपुरका प्रमुख जिल्ला अधिकारी नारायणप्रसाद शर्मा दुवाडीले स्वीकृतिबिना खोलामा एक्साभेटर प्रयोग गरेर उत्खनन् गर्न पूर्णरुपमा रोक लगाइएको बताउनुभएको छ।

जिल्ला प्रशासन कार्यालय मकवानपुरले गरेका मासिक गतिविधिबारे आइतबार पत्रकार सम्मेलन गर्दै उहाँले खोलामा मेसिन प्रयोग गरेर ढुंगा, गिट्टी, बालुवा उत्खनन् गर्न रोक लगाइएको बताउनुभएको हो।

पुल र राजमार्ग क्षेत्रमा पनि पाँच सय मिटर तल र माथि ट्याक्टरमा मानिसले उत्खनन् गर्न पनि रोक लगाइएको उहाँले बताउनुभयो। मकवानपुरका क्रसर उद्योग नवीकरण नभएको विषयमा आफूले मन्त्रालयसँग निर्देशन माग गरेको बताउँदै उहाँले भन्नुभयो–‘देशभरका क्रसर उद्योग नवीकरणबिना सञ्चालनमा छन्। यस विषयमा गृह मन्त्रालयलगायत मन्त्रालयसँग निर्देशन माग गरेका छौं। समयमै निर्देशन नआउँदा समस्या भएको छ।’

हेटौंडामा सडक विस्तार कामसँगै सडक निर्माणका लागि बजेट आवश्यक रहेको उहाँले बताउनुभयो। मुख्य राजमार्गमा दायाँबायाँ २५ मिटर विस्तारको कामसँगै यसको ब्यवस्थापनका लागि बजेट ल्याएर तत्काल काम गर्नुपर्ने बेला आएको प्रजिअ दुवाडीले बताउनुभयो। २५ मिटर विस्तारको काम कुनै हालतमा नरोकिने उहाँको भनाइ छ।

बजार अनुगमन कार्यलाई पछिल्लो समयमा निरन्तरता दिन नसकिएको भन्दै उहाँले अब तदारुकतासाथ अगाडि बढाइने बताउनुभयो। हेटौंडाको बसामाडीमा रहेको सहारा ग्यास उद्योगको सिलिन्डर विष्फोटबाट घाइते भएकालाई उपचार खर्च दिएर भौतिक संरचनामा परेको क्षतिको क्षतिपूर्ति दिलाउन पहल भइरहेको उहाँले बताउनुभयो।

स्थानीय विकास अधिकारी नारायणप्रसाद मैनालीले बिनास्वीकृति निजी, आवधिक र खोलामा उत्खनन् गर्न नपाइने बताउनुभयो। उत्खनन् भएको पाइए कारबाही गरिने उहाँले बताउनुभयो।

प्रतिक्रिया दिनुहोस्