रियलले भेटायो बार्सिलोनाको कीर्तिमान



लन्डन, (एजेन्सी)
स्पेनिस फुटबलका महारथी रियल मेड्रिडले लगातार ३९ खेलमा अपराजित रहँदै बार्सिलोनाको कीर्तिमानलाई भेटाएको छ।

स्पेनिस ला लिगा फुटबलअन्तर्गत शनिबार भएको खेलमा रियल मेड्रिडले ग्रानाडामाथि ५–० को सहज जित हात पार्दै बार्सिलोनाको कीर्तिमानसँग बराबरी गरेको हो। यसअघि स्पेनिस फुटबलमा सर्वाधिक खेलसम्म अपराजित रहने कीर्तिमान बार्सिलोनाको मात्र नाममा रहँदै आएको थियो। जिनेदिन जिदानको प्रशिक्षणमा रहेको रियल मेड्रिड बार्सिलोनाको कीर्तिमानलाई तोड्न एक जित मात्र टाढा छ। रियल मेड्रिडले अप्रिलमा च्याम्पियन्स लिगको सेमिफाइनलको पहिलो लेगमा हारेयता कुनै पनि खेल गुमाएको छैन।

घरेलु मैदानमा भएको खेलमा रियलका लागि इस्कोले २ गोल गरे भने क्रिस्टियानो रोनाल्डो, करिम बेन्जिमा र कासेमेरोले समान १–१ गोल गरे। खेल अघि रोनाल्डोले सान्टियागो बेर्नाबाउ रंगशालामा आफ्नो ‘बालोन डिओर अवार्ड’ सार्वजनिक गरेका थिए।

रियल मेड्रिडबाट च्याम्पियन्स लिग जितेका उनले गत जुलाईमा फ्रान्समा सम्पन्न युरोकपमा पोर्चुगललाई विजेता बनाउन महत्त्वपूर्ण भूमिका निभाएका थिए। उनी सोमबार घोषणा हुने फिफा वर्ष खेलाडी अवार्डको प्रमुख दावेदारसमेत मानिएको छ।

शनिबारको जितसँगै रियल मेड्रिडले ला लिगाको अंक तालिकामा दोस्रो स्थानको सेभियासँग ४ अंकको अग्रता लिएको छ। १६ खेलबाट रियल मेड्रिडको ४० अंक भएको छ। एक खेल बढी खेलेको सेभिया ३६ अंकसहित दोस्रो स्थानमा छ। १६ खेलबाट ३४ अंक जोडेको बार्सिलोना तेस्रो स्थानमा रहेको छ।

प्रतिक्रिया दिनुहोस्