बाँकी योग्यता ?



सर्वोच्च अदालतले अख्तियार दुरुपयोग अनुसन्धान आयोगका तत्कालीन प्रमुख लोकमान सिंह कार्कीको नियुक्ति गलत रहेको र उनी योग्य नरहेको आइतबार ठहर गरेको छ। यो देखेर हिजो देशको माहौल निकै मजाले तातेको धरहराले देखेको छ।

सर्वोच्चले उनी अयोग्य भएको फैसला गरिसकेपछि उनलाई नियुक्त गर्ने मान्छेहरूचाहिँ योग्य कि अयोग्य ? यो अझ गम्भीर प्रश्न उब्जन पुगेको छ। अनि उनले अहिलेसम्म गरेका निर्णय अब के हुन्छन् ? उनले खाएको तलब भत्ता फिर्ता हुन्छ कि हुँदैन ?

यस्ता बग्रेल्ती प्रश्नहरू अहिले उब्जिएका छन्। यसको जवाफ कताबाट पाइने हो त्यो पनि सर्बसाधारणलाई थाहा छैन। यस्ता अयोग्य मान्छे छानीछानी नियुक्त गर्ने महानुभावहरूलाई सम्मानका साथ फूलको माला लगाएर शहर घुमाउने हो कि ? यसो भनेदेखि मैले गरेको हुँ भन्दै ती महानुभावहरू अघि आउने धरहरालाई लागेको छ। नत्र त कसैले मुख खोल्नेवाला छैन होला।

लौ न राजधानीको खुलामञ्चमा कार्यक्रम राखेर सम्मान गर्ने हो कि ? संसद्ले महाभियोग पास गरेको भए पनि नियुक्ति गर्नेहरू जोगिन सक्थे होलान्। किनकि महाभियोग उनको कामको आधारमा लाग्न सक्थ्यो। नियुक्ति गरेपछि उनले गरेको कामको दोषीको भागिदार नियुक्त गर्नेहरू नहुन सक्थे।

तर , यहाँ त अदालतको कुरा आयो। जसले नियुक्ति नै गलत भनेको छ। अझ उनको सिफारिस त अहिले सत्ताको नेतृत्व गरिरहेका महानुभावले नै गर्नुभएको थियो। अब को–कोसँग रहला योग्यता र नैतिकता ?

प्रतिक्रिया दिनुहोस्