बाटो खोल्न गएको सेनाको गाडी पल्टियो, ३६ घाईते



(विमल विष्ट)/ डोटी
हिमपातका कारण अबरुद्ध भएको अत्तरिया स्याउले जोड्ने भिमदत्त राजमार्ग खोल्न गएको नेपाली सेनाको एक वानटन नामक गाडी पल्टिएको छ ।

सुदूरपश्चिम पृतना दिपायलले दिएको जानकारी अनुसार डडेल्धुरामा तैनाथ रहेको नेपाली सेनाको गरुडदल गण बाट हगुल्टेमा परेको हिमपातले बन्द भएको बाटो खोल्न सेनानी कृष्ण अधिकारीको कमाण्डमा गएको टोली बाटो खोलेर फर्किदा दुर्घटनामा परेको हो ।

दुर्घटनामा परेर सेनानी अधिकारी सहित ३६ जना अन्य सैनिकहरु घाईते भएका छन् । दुर्घटनामा परि चार जना गम्भीर घाइते भएका छन् । उनीहरुको टाउकोमा चोट लागेको छ । टाउकोमा चोट लागेर गम्भीर घाइते हुनेहरुमा खुम बहादुर बुच्छे, मिठे थापा, भरत कुमार मगर र नीर बहादुर सारु रहेका छन् ।

घाईतेहरुको डडेल्धुरा स्थित उपक्षेत्रीय अस्पतालतमा उपचार भईरहेको सेनाले जनाएको छ । घाईते मध्ये केहीको अवस्था गम्भिर भएकाले थपउपचारका लागि काठमाण्डौ लैजान नेपाली सेनाको हेलिकप्टर आउदै गरेको समेत सुदूरपश्चिम पृतना दिपायलले जनाएको छ । डडेल्धुराको साहुँ खर्क भन्ने ठाउमा उक्त गाडी पल्टिएको हो ।

प्रतिक्रिया दिनुहोस्