छात्राहरु महिनावारी भएका बेलामा पनि विद्यालय जान थाले



(विमल विष्ट)/ डोटी, २४ पुस ।
केही समय पहिले डोटीको भुमीराजमाण्डौ गाविसमा रहेको भुमीराज माविमा अध्यनरत छात्राहरू महिनावारी भएको समयमा विद्यालय नजाने छात्राहरू अहिले भने विद्यालय जान थालेका छन् ।

महिनावारी भएको समयमा विद्यालय नजाने उक्त गाविसका छात्रा जनचेतना पाएपछि विद्यालय जान थालेका हुन् । उक्त गाविसमा कामगरिरहेका बिभिन्न संघ संस्थाले छाउपडी प्रथासम्बन्धी विभिन्न जनचेतनामूलक कार्यक्रम गरेपछि छात्राहरू विद्यालय आउने गरेको विद्यालयका प्रधानाध्यापक जगतबहादुर बलायरले बताउनु भयो ।

उहाँले भन्नु भयो –,‘पहिले महिनावारी हुँदा विद्यालयमा सरस्वतीको बास हुन्छ भन्दै विद्यालयको प्राङ्गणसम्म छुन डराउने छात्राहरू आजभोलि विद्यालय आउने गरेका छन, यसले समाजमा सकारात्मक बिकास गर्नुका साथै बिद्यालयको पढाई पनि राम्रो भएको छ ।’

विद्यालयलाई सरस्वतीको मन्दिर भन्दै महिनाबारी भएको समयमा भुमीराज माविका छात्राहरू मात्र नभई जिल्लाका दर्जनौं गाविसमा रहेका मावि विद्यालयहरूका छात्राहरू विद्यालय आउँदैनथे तर अहिले जिल्लाका विभिन्न गाविसमा गैरसरकारी संस्थाहरूले छाउपडी प्रथालाई एक कुप्रथा हो भन्दै सर्बसाधारणलाई जनचेतना जगाई अहिले महिनाबारी भएको समयमा घर परिवार र आफ्नै सुत्ने कोठा र छात्राहरू निरन्तर विद्यालय जाने गरेको स्थानिय समाजसेबी खडकबहादुर बोहराले बताउनु भयो ।

उहाँले भन्नु भयो – ‘छाउपडी प्रथा जिल्लामा एक पुरानो रुढीबादी परम्परादेखि नै चलि आएको कुप्रथा हो तर अहिले पछिल्लो समयमा डोटीका विभिन्न संस्थाहरू ग्रामीण भेगमा लागू भएपछि जनचेतना जागेर पहिलेको भन्दा केही कम हुँदै आएको छ ।’

यतिमात्र नभई बिद्यालयमा अध्यनरत छात्राहरुलाई बिद्यालयले महिनावारी हुदा लगाउने प्याड समेत बितरण गर्न थालेपछि छात्राहरु निर्बाध रुपमा बिद्यालयमा आउन थालेको प्रअ बलायरले बताउनु भयो । उहाँले थप भन्नु भयो ‘पछिल्लो समय हाम्रो बिद्यालयले छात्राका लागि छुट्टै सौचालय बनाउनुका साथै सेनेटरी प्याड समेत दिन थालेकाले पनि छात्राहरु महिनावारी हुदा बिद्यालय आउन थालेको अर्को कारण पनि हो ।’

प्रतिक्रिया दिनुहोस्