नक्सालमा सडक भासियो, स्थानीय आक्रोशित



काठमाडौं, २४ पुस । प्रहरी प्रधान कार्यालयबाट नक्साल भगवती जाने सडक भासिएको छ । सडक भासिएपछि गएरातिदेखि नै सो सडकमा यातायात सेवा अवरुद्ध छ । सडक नजिकै बनाउन लागिएको हिल्टन होटलको जग खन्ने क्रममा सडक भासिएको हो ।

१८ तलेको भवन बन्न लागिएको सो होटेलले ३ तलासम्मको गहिराईमा जग खनिरहेको थियो । आइतबार बिहान ४ बजेतिर सडक भासिएको हुनसक्ने महानगरीय प्रहरी वृत्त कमलपोखरीका प्रहरी सहायक निरिक्षक जयराम थापाले न्युजअफनेपाललाई बताउनुभयो ।

उहाँका अनुसार सो सडक खण्ड २५ देखि ३० मिटर गहिराईसम्मको भाग भासिएको छ । सडक भासिदा भूकम्प गए जस्तो ठूलो आवाज आएको स्थानीयको भनाइ छ। सुतिरहेका बेला एक्कासी भूकम्प गएजस्तो मानेर स्थानीय त्रसित बनेको थिए।

अहिले सो सडक खण्डमा भगवती मन्दिरदेखि बाल मन्दिर चोकसम्मको सडकमा दुबैतर्फ सवारी आवागमन बन्द गरिएको छ । त्यस्तै गरी, वृत्तका सहायक निरिक्षक थापाले दिएको जानकारी अनुसार निर्माण कम्पनीको लापरबाहीका कारण सडक भासिएको भन्दै स्थानीय आक्रोशित बनेका छन् ।

काठमाडौं महानगरपालिकाको लापरवाहीले सडक विग्रेको भन्दै उनीहरुले दोषिलाई कारवाही गर्न पनि माग गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्