झण्डै गोली हानाहान



नेपाल समाचारपत्र
काठमाडौं
सुन लिन विमानस्थल पुगेका सन्तोष काफ्ले पक्राउ गर्न पुगेको प्रहरी टोलीलाई नक्कली पेस्तोल देखाई भाग्न खोजेको खुलेको छ। विमानस्थलमा सुन लिन पुगेका काफ्लेले नक्कली चाइनिज पेस्तोल देखाएर प्रहरीलाई फायर गर्न खोज्दा प्रहरीले समेत पेस्तोल हान्न खोजेको थियो। सीआईबीका प्रवक्ता एसएसपी मिरा चौधरीले जवाफी फाइरिङ गर्न प्रयास गर्दा काफ्ले झस्किएका थिए। प्रहरीले फायर खोल्दा सुन लिन आएका काफ्ले र दिलबहादुर थापाको भवितव्य घटना भए थप जानकारी हासिल गर्न नसक्ने भन्दै प्रहरीले तत्काल फायर खोलेन।

उनीहरूले सुन तस्करी गर्न आएका थापा र काफ्लेलाई समात्ने प्रयास मात्र गरे। अन्ततः नक्कली पेस्तोल देखाएर सुनसहित भाग्न खोजेका दुईलाई प्रहरीले पक्राउ गरेरै छाडेको थियो। काफ्ले र थापा आफ्नो गाडीमा सधैं नक्कली पेस्तोल लिएर हिँड्ने गरेको प्रहरीले जनाएको छ।

अख्तियार सक्रिय नभएको मौका छोपेर भन्सार कर्मचारीको सहयोगमा सुन तस्करी गर्न पल्केकाले दुबईबाटै सेटिङ गरेर सुन नेपाल भित्त्याउने गरेको तथ्य प्रहरीले फेला पारेको छ। सय किलोभन्दा बढी सुन नेपाल भित्त्याएपछि सुनधनी नेपाल फर्कने योजना बनाएको बारेमा प्रहरीले थप अनुसन्धान शुरू गरेको छ।

प्रहरीले पक्राउ परेकामध्ये मुख्य भरिया भनिएका गोपालबहादुर शाहीले आफूले नौपटकसम्म विमानस्थलबाटै सुन भित्र्याइसकेको प्रहरीसमक्ष बयान दिएका छन्। पक्राउ परेका थापा भने डेढ वर्षअघि नेपाल फर्किएर तस्करीमा सम्लग्न रहेको प्रहरीको अनुसन्धानले खुलेको छ। विमानस्थलबाट यतिधेरै सुन पास भएर बरामद गर्दासमेत सरकारले कडा कदम चाल्न सकेको छैन। सुन बरामद भएको घटना सार्वजनिक भएपछि प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्याल शुक्रबार कार्यालय खुल्नासाथ सीआईबी मुख्यालय पुग्नुभएको थियो। घटनाको विवरणबारे सीआईबीका डीआईजी नवराज सिलवालसहित उच्च प्रहरी अधिकृतसँग जानकारी लिएलगत्तै उहाँले विमानस्थलमा प्रहरीको संलग्नता भेटिए कारबाही गरिनेसमेत बताउनुभएको थियो। महानिरीक्षक अर्यालको निर्देशन लगत्तै सीआईबीले जिल्ला अदालत काठमाडौमा संगठित अपराधअन्तर्गत ५ दिनको म्याद थपेको थियो। महानिरीक्षकको निर्देशनपछि पक्राउ परेका तीनैजनालाई सीआईबीमा नै राखेर अनु्सन्धान थालेको छ। संगठित अपराध मुद्दामा प्रहरीले तीन महिनासम्म थुनामा राखेर अनुसन्धान गर्न सक्ने कानुनी प्रावधान छ।

भन्सार विभागले विमानस्थलको अति कडा सुरक्षा घेरा तोडेर सुन ल्याउन सहयोग गरेको भन्दै शुक्रबार २९ जना कर्मचारीलाई हटाएको छ। सुन ल्याउन सहयोग गरेको आरोपमा कामबाट हटाइएका कर्मचारीको सम्पत्ति, बैंक ब्यालेन्स र उनीहरूको कल डिटेलसम्म खोजी गर्नुपर्ने प्रहरीको भनाइ छ। दुबईबाट सुन बोक्न भरियाको प्रयोग गर्ने धनीले नेपालमा भन्सारदेखि उपल्लो निकायसम्म सबैसँग सम्पर्क र सेटिङ गरेर सुन तस्करी गर्ने गरेका छन्। यो घटनाको विस्तृत विवरण आउन बाँकी रहे तापनि घटनामा माथिल्लो तहका कर्मचारीको संलग्नता हुनसक्ने आशंका प्रहरीले गरेको छ। तर प्रहरीले कहिलेसम्म अनुसन्धान गरेर घटनाको यथार्थ पत्ता लगाउने भन्ने विषयमा अझै अन्योल देखिएको छ। बुधबार एयर अरेबियाको विमानबाट ३३ किलो सुन भित्रिएको घटनाले विमानस्थलको फितलो सुरक्षा छर्लङ्ग भएको छ।

भन्सार विभागका महानिर्देशक शिशिर ढुंगानाले घटनाको विषयमा अनुसन्धान भइरहेको बताउनुभयो। उहाँले भन्नुभयो– ‘हटाइएका २९ जना कर्मचारीको विषयमा समितिले अनुसन्धान गरेर प्रतिवेदन बुझाएपछि मात्रै केही भन्न सकिन्छ।’ –उहाले भन्नुभयो, ‘सुन बाहिरिदा ड्युटीमा बसेका सबै कर्मचारीलाई काम दिएका छैनौं, छानविनका लागि सबै प्रकृया अघि बढाएका छौं।’

प्रतिक्रिया दिनुहोस्