अबरोध हटाऊ



सडक विस्तार कार्यमा स्थानीय बासिन्दाले अवरोध गरेपछि भक्तपुरका अधिकांश सडकको निर्माण अलपत्र परेका छन् । मध्यपुर थिमीको बाहाखा बजारबाट बोडे हुँदै मूलपानी सडक, कोरिया–नेपाल मैत्री अस्पताल हुँदै सिद्धिकाली चोक पुरानोबाटो सडक, चार दोबाटो–सिद्धिकाली सडक, चार दोबाटो–बालकोट सडक, कौशलटार–बालकोट जोड्ने सडकको निमार्ण तथा विस्तार रोकिएको छ । सडकको मापदण्ड भित्र परेका घर तथा अन्य संरचना भत्काउन रातो चिन्ह्र लगाइएपनि स्थानीय बासिन्दाले भत्काउन अवरोध गरेपछि सडक विस्तार रोकिएको डिभिजनल सडक कार्यालयले जनाएको छ ।

जम्मा ३ किलोमिटर लम्बाईको बाहाखा बजार–बोडे–मूलपानी सडक १० करोड ६१ लाख ६४ हजार ७ सय रुपियाँको लागतमा २०७५ जेठ मसान्त भित्र विस्तार गर्ने सम्भौता भएको थियो । यस सडकमा ५० भन्दा बढी घर मापदण्ड विपरित रहेकाले स्थानीय बासिन्दाले अवरोध जारी राखेको कार्यालयले जनाएको छ ।

त्यसैगरी ६ करोड ६२ लाखको लागतमा विस्तार हुने टुङ्गो लागेको ११ सय मिटर लामो कोरिया–नेपाल मैत्री अस्पताल–सिद्धकाली सडकको धेरै काम अघि बढेपनि सडकको दुवै तर्फको सृुृरुवातको विन्दूू आसपासमा अवरोध भएको बताइएको छ । चार दोबाटो र सिद्धिकाली चोक जोड्ने सडक क्षेत्रमा मापदण्ड विपरितका ११ घर र एक सरकारी विद्यालय, टेलिकम र विद्युतका पोल स्थानान्तरण हुँन नसक्दा निर्माण अवरुद्ध भएको छ ।

सो सडकमा रहेका १६ विद्युत र ११ वटा टेलिकमका पोल हटाउन पटक–पटक पत्राचार गरिएपनि ती कार्यालयबाट सहयोग नभएको सडक कार्यालयका कर्मचारी बताउँछन् । स्थानीय बासिन्दाले सहयोग नगर्दा चारदोबाटो–बालकोट सडक विस्तार विगत डेढ वर्षदेखि रोकिएको छ । २०७१ चैत दोस्रो साता १ करोड ५० लाख ७५ हजारमा विस्तार हुनेगरी ठेकेदारसँग सम्झौता भएर काम शुरु भएको सडक विस्तारमा अवरोध आएको थियो । सरोकारवाला निकाय र स्थानीय बासिन्दासँग पटक–पटक छलफल पश्चात बजेट विनियोजन गरेर सडक विस्तार कार्य शुरु गरिएको सडक कार्यालयको तर्क छ । तर अब फेरी सडक विस्तार कार्यमा फेरी पनि अवरोध दोहोरिए स्वीकृत कार्यक्रम र बजेट फिर्ता हुने सो कार्यालयका अधिकारीहरू बताउँछन् ।

बढ्दो जनघनत्वसँगै सडक चाप बढ्दै जाँदा पुराना सडक फराकिलो बनाउनुपर्ने बाध्यता थपिएको हो । यससँगै सडकले प्रत्यक्ष⁄अप्रत्यक्ष स्थानीय बासिन्दालाई नै लाभ पुर्याइरहेको हुन्छ । स्थानीय बासिन्दा र सरोकारवाला निकाय वीच दरिलो हातेमालो भए नतिजा समेत उत्कृष्ट हुन्छ । तर आफ्नो मेहनत पसिनाले जोडेको सम्पत्ति सार्वजनिक हितमा योगदान गर्न जो कोही तयार हुँदैन । पुख्यौली सम्पत्तिको पनि उत्तिकै माया लाग्छ । सडक विस्तारका क्रममा अन्याय त्यसलाई हुन्छ, जसको अन्यत्र एक टुक्रा समेत जग्गा हुन्न, जो पुस्तौदेखि एउटै थलोमा बस्दै आएको छ । तर सडकको मापदण्ड भित्र परेका जग्गा र अन्य भौतिक सम्पत्ति ओगटेर बस्नु, मुआब्जा र अन्य क्षतिपूर्ति दावी गर्नु न्यायोचित पक्कै होइन ।

प्रतिक्रिया दिनुहोस्