रुसी ह्याकिङको विषयमा अर्को हप्ता खुलासा गर्ने



वासिङ्टन, (एजेन्सी) अमेरिकी गुप्तचर विभागका प्रमुख जनरल जेम्स क्लेपरले अमेरिकी राष्ट्रपति चुनावमा रुसले किन हस्तक्षेप गर्यो भन्ने विषयमा आफूले बताउने प्रतिबद्धता व्यक्त गरेका छन्।

अमेरिकी चुनावका क्रममा भएका उक्त हस्तक्षेपलाई लिएर राष्ट्रपति बाराक ओबामालाई बिहीबार प्रतिवेदन सुम्पेका थिए। जेम्स क्लेपरले रुसका राष्ट्रपति भ्लादिमिर पुटिनले डेमोक्रइटिक पार्टीको इमेलहरू चुहावट गर्न आदेशको दिएको र त्यसको पछाडिको उद्देश्यका विषमा अर्को हप्ता खुलासा गर्ने बताएका छन्।

यद्यपि जेम्स क्लेपरले रुसी ≈याकिङलाई युद्धको कारबाही भनेका छैनन्। सिनेटको सैन्य समिति यो मामिलाको सुनवाइ गरिरहेका छन्। यसको नेतृत्व रिपब्लिकन सिनेटर जोन म्याक्केनले गरिरहेका छन्।

रुसले अमेरिकी चुनावमा हस्तक्षेपको आरोपलाई अस्वीकार गरेको छ तर रुष्ट अमेरिकाले ३५ रुसी राजनीतिज्ञलाई देश निकाला गरेको छ। क्लेपरले रुसको अभियानलाई बहुआयामिक भएको बताए र यसमा प्रोपागान्डा, गलत सूचना र झुठो सूचना दिनु समावेश रहेको थियो। नवनिर्वाचित राष्ट्रपति डोनाल्ड ट्रम्पले आफू गुप्तचर एजेन्सीहरूको ‘ठूलो प्रशंसक’ भएको बताए। उनलाई शुक्रबार उक्त प्रतिवेदनका बारेमा जानकारी दिइनेछ र अर्को हप्ता उक्त गोप्य जानकारी सार्वजनिक गरिनेछ।

उक्त प्रतिवेदन जेम्स क्लेपर, अन्डर सेक्रेटरी मार्सल लेटर र राष्ट्रिय सुरक्षा एजेन्सीका निर्देशक एडमिरल माइकल राजर्सले तयार पारेको हो। रिपब्लिकन सिनेटर लिन्डसे ग्राहमले सुनवाइका क्रममा भने– ‘यो सुनुवाइ रुसले जे गरेको छ, त्यसलाई ध्यानमा राखेर गुप्तचर सेवाको सुरक्षालाई थप बलियो पार्ने अभिप्रायले भएको हो।’ बयानका क्रममा भनिएको छ– ‘रुससँग विकसित साइबर कार्यक्रम छ, जसबाट अमेरिकी हितलाई ठूलो खतरा छ।’

चुनावमा हस्तक्षेपलाई लिएर अमेरिकाले रुसी कूटनीतिज्ञ निष्कासन र दुईवटा परिसर बन्द गरे पनि रुसले त्यसको जवाफमा कुनै कारबाही अगाडि बढाएन। रुसी राष्ट्रपति पुटिनले अमेरिकी कारबाहीको निन्दा गर्दै मस्कोले त्यसको जवाफमा तत्काल कुनै बदलाको कदम नचाल्ने बताएका थिए। पुटिनको उक्त प्रतिक्रियालाई लिएर नवनिर्वाचित राष्ट्रपति ट्रम्पले पुटिनको प्रशंसा गरेका थिए।

प्रतिक्रिया दिनुहोस्