कारागार भिडन्तमा ३३ मारिए



रियो दि जेनेरो, (एजेन्सी)
उत्तरी ब्राजिलको एउटा कारागारमा शुक्रबार भएको हिंसात्मक घटनामा कम्तीमा ३३ जना कैदीको ज्यान गएको सरकारी सूत्रले जनाएको छ। केही दिनअघि मात्र नजिकैको अर्को राज्यमा रहेको एउटा कारागारमा लागूऔषध तस्कर समूहसँग आबद्ध कैदीहरूबीच लगातार १७ घण्टासम्म भएको भिडन्तमा ५६ व्यक्तिको ज्यान जानुका साथै अन्य दर्जनौं गम्भीर घाइते भएका थिए।

स्थानीय न्याय सचिव उजियल क्यास्त्रोले हिजो रोराइमा राज्यको कारगारमा भएको हिंसामा पनि लागूऔषध तस्कर समूहको हात रहेको बीबीसीलाई जानकारी दिएका छन्। उनले पेनिटेन्सियारिया एग्रिकोला दि मोन्टे क्रिस्टोमा रहेको सो कारगारमा मरेका केही कैदीको अंगभंग गरिएको पनि बताएका छन्।

तर उनले स्थिति नियन्त्रणमा आइसकेको जनाएका छन्। कारगारका अधिकारीहरूले केही कैदीको समूहले हिजो बिहान सबेरै आफ्नो कोठाको ताल्चा फोडेर बाहिर आई अर्कै भवनमा रहेका शत्रु समूहमाथि अचानक सांघातिक आक्रमण गरेको स्थानीय सञ्चार माध्यमलाई बताएका छन्।

प्रतिक्रिया दिनुहोस्