नक्कली बैंक चलाई करोडौं डलर ठगी



बेइजिङ, (एजेन्सी)
चिनियाँ शहर नानजिङको एक अदालतले एउटा नक्कली बैंकमार्फत ग्राहकहरूको बचत रकम ठगी गरिरहेको अभियोगमा दुई जना व्यक्तिलाई कारवास सजाय तोकेको शुक्रबार सरकारी समाचार निकाय सिन्≈वाले जनाएको छ। जेंग र हे नामक ती दुई पुरुषले करिब ४ सय जना ग्राहकको ६ करोड ३० लाख अमेरिकी डलर कुम्ल्याएको बताइएको छ।

पिपुल्स डेलीले तिनीहरूलाई जनही नौ वर्ष र नौ वर्ष छ महिना जेल सजाय तोकिएको जनाएको छ। वास्तवमा तिनीहरूले ग्राहकहरूलाई ठग्न सहकारीलाई भित्रभित्रै सरकारी स्वामित्वमा रहेको बैंकमा परिणत गरेका थिए।

तिनीहरूले सहकारीको इन्टेरियरलाई पनि हुबहु बैंकको जस्तो बनाएका थिए। त्यहाँ टलेरको झइल, युनिफर्म लगाएका कर्मचारी र डिपोजिटको स्लिपको समेत व्यवस्था गरिएको थियो। ग्रामीण सहकारी सञ्चालनको मात्र अनुमति पाएको सो सहकारीसँग बैंकिङ कारोबार गर्ने कुनै कानुनी आधार थिएन।

पिपुल्स डेलीले सन् २०१२ मा पहिलोपटक कृषि सल्लाहकारको रूपमा उक्त दि मेन्गसिन भिलेज इकोनोमिक इन्फरमेसन प्रोफेसनल को–अपरेटिभ स्थापना भएको जनाएको छ। सन् २०१३ मा आकर्षक ब्याजको लोभ देखाउँदै तिनीहरूले ग्राहकहरूलाई रकम जम्मा गर्न प्रेरित गरेका थिए।

सो सहकारीका एक जना संस्थापकले पहिला सरकारी बैंकमा काम गरिसकेको र उनीसँग बैंक कर्मचारीहरूलाई तालिम दएको अनुभवसमेत रहेको बताइएको छ। अधिकांश व्यक्तिले प्रहरी र सरकारी निकायको आँखा छलेर यसरी लामो समयसम्म तिनीहरूले ग्राहक ठग्न सकेकोमा आश्चर्य व्यक्त गरेका छन्।

प्रतिक्रिया दिनुहोस्