पत्नीको उपचार गर्दागर्दै घर फर्किने भाडासमेत नभएपछि काभ्रेका एक वृद्ध पत्नीलाई बोकेर गन्तव्यतर्फ अघि बढ्न विवश।

भगवती तिमल्सिना, काभ्रे
छेउमै धुलिखेल अस्पतालको भवन थियो। सडकको दायाँबायाँ निकै ठूलाठूला भवन र त्यसमा सजिएका सामानहरू कुरिरहेका साहुहरू ग्राहकको पर्खाइमा थिए। यसै बीचमा एक जना ८० वर्ष उमेर कटेका व्यक्ति अस्पतालको गेटबाट वृद्ध महिलालाई पिठ्युँमा बोकेर बाहिरिए।

ती व्यक्तिको दुःख र दर्द आफ्नै प्रकारको थियो। आफूभन्दा पाको उमेरकी अर्थात् ८४ वर्षकी जीवन साथी सुमित्रा विकलाई १३ दिनदेखि धुलिखेल अस्पतालमा भर्ना गरी उपचार गराएर घर फर्कनुपर्ने। तर घर पुग्ने ६ सय भाडा थिएन।

नियमित जाने एउटा बस पनि बिहानै गइसकेको थियो। साथमा पैसा पनि थिएन। अब कसरी जाने? उनले यो पीडादायी दुःख पोखिरहँदा अस्पताल आउँदै गरेका अन्य बिरामी तथा बटुवाहरूले गाडीभाडाका लागि भन्दै सक्दो सहयोग गरे। ढाडमा श्रीमती र उनका कपडाको धोक्रो बोकेका, लठ्ठी टेकेर सकी नसकी उकालो चढ्दै गरेका यी वृद्धले सबैलाई चिताएको पुगोस्, भलो होस्, यो गुन कहिल्यै बिर्सन्न, अब कहिल्यै भेट हुन्न होला जस्ता मनै छुने खालका शब्दले आशीर्वाद दिन छुटाएनन्।

थर्रथर्र कापेका हातगोडा, पिठ्युँमा श्रीमती र धोक्रो, हातमा सहाराका लागि टेकेको लठ्ठीले उनको अवस्था सहजै अनुमान लगाउन सकिन्थ्यो। सेतै फुलेको केश र दारी, यति चिसो मौसममा खुट्टामा थोत्रो प्लास्टिकको चप्पल, श्रीमतीका नांगा खुट्टा बिहानको १० बजेको समयमा अस्पतालबाट बाहिरिँदै गर्दाको यो दृश्यले धेरैको आँखा रसाए, गला अवरुद्ध भए। देख्ने र भेट्ने मनकारीहरूले यी वृद्धलाई सुकेको ओठ अलिकति भए पनि रसाओस्, कति दिनदेखिको भोको पेटमा थोरै भए पनि चारो परोस् भनेर केही रकम हातमा हालिदिए।

मानिस कति दुःख र दर्दमा बाँच्न बाध्य छन् भन्ने कुराको एउटा नमूना मात्र हो– सुमित्रा विक र उनका पतिको दर्दनाक अवस्था। नेपालका ठूला भन्ने राजनीतिक दलका नेताहरू र सरकारले उपचार खर्चका नाममा राज्यकोष रित्याउँदै गरिरहेको अवस्थामा के भनेर सम्बोधन गर्लान् यो अवस्था रहेका विक दम्पत्तिलाई ? गरिबी र बुढेसकालमा बाससमेत भूकम्पले भत्किएपछि श्रीमती बिरामी पर्दा यी दम्पत्तिलाई जीवन जिउन कति कठीन होला ?

श्रीमतीको कोखा दुखेर धुलिखेल अस्पतालमा उपचारका लागि भर्ना गरि डिस्चार्जपछि काभ्रेकै कात्तिके देउराली घर फर्कन लाग्दा बेखर्ची भएका यी वृद्धले ८४ वर्षीय श्रीमतीलाई पिठ्यूमा बोकेर हात थाप्दै नमस्कार र आर्शीवाद दिइरहेको दृश्य देख्ने सबैको मन कुडिन्थ्यो। यी वृद्धवृद्धा घर जाने भनेर अस्पतालबाट त बाहिरिए तर यस्तो हालतमा कसरी गए होलान् ? उनीहरूको घर कात्तिके देउराली काभ्रेको विकट गाउँमा दिनमा एउटा मात्र गाडी जान्छ। यी वृद्धाका लागि सारथी बन्छ या बन्दैन कसैलाई थाहा छैन। संविधानमा उल्लेख भएको स्वास्थ्यको नैसर्गिक अधिकार र नेपाल सरकार तथा स्वास्थ्य मन्त्रालयले रटिरहेको गाउँ–गाउँमा सर्वसुलभ रूपमा स्वास्थ्य सेवा भन्ने भनाइ के यी वृद्धवृद्धाले उपयोग गर्न पाउलान् त ?

LEAVE A REPLY