विमानस्थलबाट ठूलो परिमाणमा सुन भित्त्याइएको काण्ड



दुबईमै योजना
ईश्वरराज ढकाल, काठमाडौं
प्रहरीको अनुसन्धानले सुन तस्करको मुख्य जालो दुबई रहेको देखाएको छ। सुन मालिक को हो भन्ने हालसम्म जानकारी हुन नसके पनि दुबई नै पुगेर भरियामार्फत नेपालमा सुन तस्करी गर्ने गरेको खुलेको छ।

‘हामी अनुसन्धानको नजिक पुगिसकेका छौं। चाँडै नै घटनाको बारेमा सार्वजनिक गर्नेछौं।’ –केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीका प्रमुख डीआईजी नवराज सिलवालले भन्नुभयो। उहाँले सुन नेपाल भित्त्याउन ठूलै तस्करको गिरोह लागिपरेको बताउनुभयो। दुबईदेखि नेपालको विमानस्थलमा कार्यरत सुरक्षादेखि सो क्षेत्रका सम्बन्धित हरेक व्यक्तिसँग सेटिङ गरी करोडौं रुपियाँ बराबरको सुन नेपाल भित्त्याएर भारततिर तस्करी गर्ने गरेको प्रहरीको अनुसन्धानको क्रममा खुलेको छ।

ब्युरोले हिजै पक्राउ परेका तीनैजनालाई काठमाडौ जिल्ला अदालतमा संठगित अपराध अनुसन्धानका लागि जिल्ला अदालत काठमाडौंले पाँच दिनको म्याद दिएको छ। प्रहरी अनुसन्धान र पक्राउ परेका मुख्य आरोपी बाँकेका गोपालबहादुर शाहीलगायतसंग भएको बयानको आधारमा प्रहरीले सो घटना संगठित अपराध भएको हुनसक्ने आशंका गरेको छ। ब्युरोको विशेष टोलीले शुक्रबार पटक–पटक बयान लिएको थियो।

विशेष टोलीले दुबईमै योजना बनाएर भरियामार्फत पटकपटक नेपालमा सुन ल्याउने गरेको ठोकुवा गरेको छ। सुन ल्याउँदा कोकोसँग सेटिङ भएको छ भन्ने विषयमा अनुसन्धान भइरहेको बताउँदै जीआइजी सिलवालले यो संगठित अपराध भएको दाबी गर्नुभएको छ। शाहीले आकर्षक प्याक बनाएर ३३ किलो सुन सजिलै सुरक्षा पास गराएर राजधानी भित्र्याएका थिए। ब्युरोका प्रवक्ता एसएसपी मिरा चौधारीले सुनको मालिक को हो भन्ने विषयमा अनुसन्धान भइरहेको जानकारी दिनुभयो। बिहीबार दिउँसो पक्राउ गरिएको नियन्त्रणमा लिइएको सुन हिजो शुक्रबार नेपाल सुनचाँदी व्यावसायीमार्फत तौल गरिएको थियो।

सुनको माला भने गुणस्तर तथा नापतौल कार्यालयबाट प्रमाणित गरिएको थियो। अनुसन्धान अधिकारीका अनुसार तस्करहरूले विभिन्न जुक्ति लगाएर दैनिक यसै गरी सुन भित्र्याउने गरेका तथ्य फेला पारेका छन्। सुन तस्करको विषयमा अनुसन्धान गर्दा विमानस्थलका सुरक्षा अधिकारी र सरकारी कर्मचारी समेत तानिनसक्ने सम्भावना रहेको छ। प्रहरीले यति धेरै मात्रामा सुन बरामद गरेको यो दोस्रोपटक हो। यसअघि ३ वर्षअघि काठमाडौंको कोटेश्वरबाट ३५ किलो सुनसहित तातोपानीका ट्रक चालक निमा छिरिङ तामाङलाई पक्राउ गरेको थियो।

सुन मालिक दुबईमै बसेर सेटिङ गर्ने, दुबईमा काम गर्न गएका पाखुरेलाई प्रयोग गरी नेपालसम्म ल्याउन र सडक मार्ग हुँदै भारततर्फ निकासी गर्ने गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ। अनुसन्धान गर्दै छौं, ‘अहिले नै यो हो भनेर भन्न सक्ने अवस्था छैन’ –डीआइजी सिलवालले भन्नुभयो। उहाँले चाँडै नै सबै प्रमाण फेला पार्नेछौं त्यसपछि सबैलाई जानकारी दिनेछौं भन्नुभयो। ‘दुबईमा बस्दै आएका शाही पटक–पटक नेपाल आउने जाने गरेको र उनको धन्दा नै सुन बोक्ने भरियाको काम गर्ने देखिएको छ’ –एक प्रहरी अधिकृतले भने। शाहीले सुन सुरक्षा जाँच गरी नेपाल भित्र्याएपछि गाडीमा सुन लिन गएका दिलबहादुर थापा र सन्तोष काफ्लेसमेत योजनाकार हुनसक्ने प्रहरीको अनुसन्धानले देखाएको छ। तर पक्राउ परेका तीनै जनाले आफूहरू भरिया मात्र भएको र सुनका वास्तविक मालिक थाहा नभएको बयान दिँदै आएका छन्।

‘अझै केही दिन लाग्न सक्छ तस्करीमा संलग्न व्यक्तिले पटक–पटक बेहोरा फरक–फरक प्रयोग गर्न सक्ने भएकाले उनीहरूका बारेमा अनुसन्धान जारी राखेका छौं’ –अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले नेपाल समाचारपत्रसंग भने। प्रहरीले नेपालमा सुन तस्करी गर्दा गाडीका पाटपुर्जा, गिफ्ट आइटम ,रक्सीको खाली बोतल प्रयोग गर्दै आइरहेका छन्। हिजो तोलातोलामा विभाजन गरेर नेपाल ल्याइएको ३३ किलो सुन २ सय ४४ वटा १० ⁄१० तोलाको विस्कुट बरामद भएको थियो। त्यस्तै १८ वटा सिक्री र १९ वटा औंठीको तौल हुन बाँकी छ। बरामद गरिएको सुनको बजार मूल्य झण्डै १५ करोड रूपियाँभन्दा बढी रहेको छ। उक्त सुन लगेजभित्र प्लास्टिकले र्यापिङ गरेको अवस्थामा प्रहरीले बरामद गरेको थियो।

प्रतिक्रिया दिनुहोस्