संघीयताको विरोधमा तराईमै प्रदर्शन



शिवहरिप्रसाद भट्टराई
राजविराज
संविधान सभाको चुनावपछि पहिलोपटक सप्तरी सदरमुकाम राजविराजमा संघियताको विरोध र राजसंस्थाको समर्थनमा राजावादीले शुक्रबार विशाल प्रदर्शन तथा आमसभा गरेका छन्।

२ सय ९५औं पृथ्वी जयन्ती नजिकिँदै गर्दा राष्ट्रिय जनता पार्टी राजावादीले राजविराजमा प्रदर्शन र आमसभा सम्पन्न गरेको हो। पृथ्वी जयन्तीका अवसरमा सात दिने देशव्यापी अभियान सञ्चालन गरेको पार्टीले मुलुकलाई स्थिरता प्रदान गर्न राजसंस्थानै चाहिने निस्कर्ष निकालेको छ।

पार्टीका राष्ट्रिय अध्यक्ष किशोरी महतोको अगुवाइमा गरिएको प्रदर्शनमा सहभागीले हिन्दू राष्ट्र कायम गर, २०७२ को संविधान खारेज गर, पृथ्वी जयन्तीको अवसरमा पौष २७ गतेका दिनलाई राष्ट्रिय विदा घोषणा गर, राजसंस्था पुनर्वहाली गर लगायतका नारावाजी गर्दै नगरका विभिन्न भागको परिक्रमा गरेका थिए। प्रदर्शनमा महिलाहरूको उल्लेख्य सहभागिता थियो।
नगरपरिक्रमापश्चात जिल्ला प्रशासन कार्यालयअगाडि स्थानीय शिव मन्दिर प्राङ्गणमा आयोजित आमसभामा राष्ट्रिय अध्यक्ष महतोले २०७२ को संविधान जनताको चाहना र राष्ट्रिय हितविपरीत भएको भन्नुहुँदै त्यसलाई खारेज नगरिए आन्दोलन चर्काउने चेतावनी दिनुभयो।

निषेधको राजनीति बन्द गरी हिन्दू राष्ट्र र राजसंस्थाको पुर्नवहाली गर्नुपर्ने माग गरेका उहाँले त्यसो नगरिए विद्रोहको सृजना हुने बताउनुभयो। राजसंस्था र हिन्दू धर्म नै शान्तिको प्रतीक भएकाले त्यसको पुर्नस्थापना र संरक्षण गर्नुपर्ने उहाँको भनाइ थियो।

राष्ट्रिय जनता पार्टी (राजावादी) सप्तरीका अध्यक्ष डा. देव नारायण यादवको अध्यक्षतामा आयोजित सभामा बोल्दै अन्य केन्द्र्रीय नेताहरूले पनि राजसंस्था र हिन्दू राष्ट्र पुर्नवहाली हुनुपर्ने माग गरेका थिए। पार्टीका नेताहरूले मधेसको माग सम्बोधनका लागि आफूहरूले पनि सहयोग गर्ने प्रतिवद्धतासमेत जनाएका छन्।

प्रतिक्रिया दिनुहोस्