ओम पुरीका विवादास्पद टिप्पणी



आक्रोश, अर्धसत्य, आरोहण जस्ता सार्थक फिल्ममा दमदार अभिनयका लागि चिनिने ओम पुरीको जीवनमा कतिपय विवादका विषय पनि जोडिएका छन्। कडा स्वभावका पुरीलाई यस्ता विवादका कारण कतिपय अवस्थामा अप्ठेरोसमेत परेको थियो। यहाँ त्यस्ता केही प्रसंगको चर्चा गरिएको छ।

एक टेलिभिजन बहसमा ओम पुरीले युद्धमा भारतीय जवानहरुको मृत्युका बारेमा भनेका थिए– ‘उनीहरुलाई आर्मीमा भर्ती हुन कसले भनेको थियो? उनीहरुलाई कसले भनेको थियो कि हतियार उठाओ?’ उनको यो अभिव्यक्तिविरुद्ध अदालतमा मुद्दासमेत दायर गरिएको थियो। पछि यो मामलामा उनले माफी माग्दै भनेका थिए– ‘मैले जे भनें, त्यसका लागि धेरै नै सर्मिन्दा छु। म यसका लागि सजायको भागिदार हुँ। मलाई माफ गर्नुहुँदैन। म उडी हमलामा मारिएका भारतीय सैनिकका परिवारसँग माफी माग्छु।’

अन्ना हजारेको मञ्चबाट ओम पुरीले नेताहरुविरुद्ध तीखो हमला बोलेका थिए। उनले हजारौं भीडका बीच भनेका थिए– ‘जब आईएस र आईपीएस अफिसर गवार नेताहरुलाई सलाम गर्छन्, मलाई लाज लाग्छ। यिनीहरु अनपढ छन्। यिनीहरुको के ब्यागग्राउन्ड छ? आधाभन्दा बढी सांसद गवार छन्।’ आफ्नो यस्तो अभिव्यक्तिले ठूलो विवाद भएपछि उनले माफी मागेका थिए। ‘म संसद् र संविधानलाई इज्जत गर्छु। मलाई भारतीय भएकोमा गर्व छ’ –उनले माफी माग्ने क्रममा भनेका थिए।

आमिर खानले कथितरूपमा भारतमा बढ्दो असहिष्णुताप्रति इंगित गर्दै भनेका थिए कि उनकी पत्नीले एक दिन देश छोड्ने कुरा गरिन्। त्यसप्रति ओम पुरीले भनेका थिए– ‘म हैरान छु कि आमिर खान र उनकी पत्नी यसरी सोच्छन्। असहिष्णुताप्रति आमिर खानको भनाइ स्वीकार्न लायक छैन। आमिरले बिल्कुल गैरजिम्मेवारी बयान दिएका छन्। तपाईं तपाईंको समुदायका मानिसलाई उक्साइरहनुभएको छ भाइ। या त तयार हुनूस्, लड्नोस् या मुलुक छोडेर जानोस्।’

भारतमा गौहत्याप्रति प्रतिबन्ध लगाउने बारेमा भएको विवादका बीच ओमले भनेका थिए– ‘जुन देशमा बिफ निर्यात गरेर डलर कमाइरहिएको छ, त्यहाँ गौहत्या प्रतिबन्धित गर्ने कुरा पाखण्डपूर्ण हो।’

ओमले भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीका बारेमा दिएको अभिव्यक्ति पनि धेरै चर्चामा आएको थियो। उनले भनेका थिए– ‘हामीसँग कुनै च्वाइस छैन, सिवाय मोदीजीलाई गोदी (काख) मा राख्नुबाहेक। बाँकी गोदी हामीले देखेका छौं।’

प्रतिक्रिया दिनुहोस्