भूकम्पपीडितका घर पुनर्निर्माणमा मधेसी कामदार आकर्षित



रामहरि गजुरेल, नुवाकोट
जिल्लाबाट धेरै युवा कामका लागि विदेशी भूमिमा होमिने गरेका छन्। भूकम्पपछिको पुनर्निर्माणमा गाउँमा दक्ष जनशक्ति र युवाको आवश्यकता भएको समयमा विदेशिने युवाको लर्को घट्न सकेको छैन। भूकम्पका कारण झनै धेरै युवा विदेशिएको तथ्याङ्क छ।

पहाडका नागरिक कामका लागि विदेशी भूमिमा होमिइरहेको समयमा तराई मूलका नागरिक भने कामका लागि पहाडी जिल्लातिर आएका छन्। विदेशको भन्दा राम्रो कमाई आफ्नै नेपालको पहाडतिर हुने भएपछि लामो समयदेखि सिरहाका जगन्नाथ सहनी नुवाकोटमा काम गर्दै आउनु भएको छ।

पहाडतिर श्रम गर्दा राम्रै आम्दानी हुन्छ, परिवारको खर्च त्यसैले चलेको कारण विदेश नगई पहाडतिर कामको लागि आएको उहाँको भनाइ छ। पहाडमा काम गर्न आउने मजदुरको मासिक कमाइ ३० देखि ४० हजार रुपियाँसम्म हुने भएपछि मजदूर खुशीका साथ काम गर्न पहाडतिर आउने गरेका छन्। विशेषगरी मधेसी मूलका थारू तथा चौधरी मजदूर कडा परिश्रम गर्ने भएकाले पनि ठूला योजनामा उनीहरूको माग हुने गरेको छ। यसअघि जगन्नाथसँगै ३० जनाको टोलीले नुवाकोटको विभिन्न विकासका पूर्वाधारमा काम गर्न आएको थियो। तराई मूलका नागरिक विकास निर्माणका पूर्वाधार निर्माण, सडक निर्माण, जलविद्युत् कम्पनीको निर्माणलगायतका क्षेत्रमा धेरै रहेका छन्। तराई मूलका नागरिकलाई पहिला नै कामका लागि आएकाले सम्पर्क गरेर ल्याउने गरेका छन्। पहाडका मानिस आँगनको काम छाडेर भारतलगायत खाडी मुलुकमा जाने चलन बढिरहेको बेला तराईबाट पहाडमा काम गर्न आएका मजदूरको सं्ख्या पनि बढ्दै गएको हो।

तराई मूलका नागरिक वर्षमा एकपटक अर्थात् पहाडी क्षेत्रमा काम रोकिएको समयमा मात्रै घर जाने गरेका छन्। दशैं तिहारको समयमा काम रोकिने भएकाले तराई मूलका नागरिक दशैंमा घर गएपछि छठ मनाएर पुनः काममा फर्किने गरेका छन्। सदरमुकाममा घर निर्माणदेखि गाउँमा सडक बनाउने काममा समेत तराईका मजदुर भेटिन्छन्। तर, नुवाकोटका अधिकांश मानिस आँगन अघिको काम गर्न लाज मानेर खाडी मुलुकमा रोजगारीका लागि जाने गरेका छन्।

हाल नुवाकोटमा करिब चार हजारको हाराहारीमा तराईका मजदूरले काम गरिरहेका छन्। तराईका मजदूर विहानदेखि बेलुकासम्म काम गर्छन्, उनीहरूको काम रहरलाग्दो हुने र कामसमेत छिटो सम्पन्न हुने भएकाले निर्माण व्यवसायीको रोजाइमा समेत तराई मूलका कामदार रहेका छन्।
दैनिक हजारदेखि १५ सयसम्म कमाई हुने र भत्ता तथा ओभरटाइम पनि पाउने भएपछि तराई मूलका नागरिक निरन्तर काममा लागिरहने निर्माण व्यवसायीको भनाइ छ। राष्ट्रिय गौरवका आयोजनादेखि सडक, पुल, ठूलाठूला संरचना निर्माणलगायतका क्षेत्रमा तराई मूलका कामदार धेरै रहेका छन्।

प्रतिक्रिया दिनुहोस्