लाठी युगतिर ?



नीतिमध्येको अब्बल राजनीतिलाई मान्ने गरिन्छ। तर हाम्रो देशमा भने राजनीति भनेको सबैभन्दा सडाहा कुरा हो भन्ने सबैलाई परिरहेको छ। यसो हुनुमा हाम्रा नेताहरूको देन हो भन्नलाई हिच्किचाउनुपर्ने अवस्था पनि छैन। आज सबेरैदेखि धरहरा वरिपरि घाम तापेर बसेका केही व्यक्तिहरूको कुरा सुन्दा धरहरालाई पनि दिक्क लागेको छ। तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुर हिजो भक्तपुरमा भाषण गर्दै हुनुहुन्थ्यो– ‘हामीले भनेअनुसार संविधानको संशोधन पास गर्ने भए गर नत्र आन्दोलन।’

होइन यो के तरिका हो? एउटा विधि पुग्ने काम गर्ने कि पास गरे गर नत्र … भनेर धम्क्याउने हो? आफूलाई प्रजातन्त्रको पर्याय मान्ने कांग्रेस पार्टीमा त्यति लामो समय बसेका नेताले के सिकेछन् यस्तो प्रजातन्त्र? विधि विधानअनुसार चल्ने कि धम्कीले देश चलाउने? धम्कीले चलाउने भए त माइतीघर मण्डलामा लाठी लिएर उभिएर सबैलाई थर्काए भइगयो नि। किन संसद् चाहियो? आफ्ना नीति पास गराउन त सबैभन्दा पहिला जनतामा गएर कुरा राख्नु, जनता सहमत भए भने दुई तिहाइ मत दिएर संसद्मा पठाइहाल्छन्। संसद्मा दुई तिहाइ भएपछि संविधानलाई जता मन लाग्छ त्यतै संशोधन गरेर पास गरे भइगयो नि। कि कसो पाठकवृन्द? कि लाठीकै युगमा अब फेरि हामी फर्किने?

प्रतिक्रिया दिनुहोस्