आरबीआई एक अर्ब भारु दिन तयार



राजु श्रेष्ठ, काठमाडौं
नेपालमा भारु नोटको अभावमा अब केही राहत हुने भएको छ। भारतको रिजर्भ बैंक अफ इण्डिया (आरबीआई) ले नेपालमा भारु नोटको अभावा कम गर्न एक अर्ब भारु दिने भएपछि नेपालमा तत्कालका निम्ति भारु अभावमा केही राहत हुने भएको हो।

आरबीआईले उपलब्ध गराउने एक अर्ब भारु माघको पहिलो साताभित्रै नेपाल ल्याउने तयारीमा नेपाल राष्ट्र बैंक लागेको बताइएको छ। राष्ट्र बैंक स्रोतका अनुसार भारु लिन छिट्टै राष्ट्र बैंकको एक प्रतिनिधिमण्डल भारत जाने भएको छ। आरबीआईले वार्षिक ६ अर्ब भारु नेपाल राष्ट्र बैंकलाई दिने सम्झौता रहेको छ। यसअन्तर्गत राष्ट्र बैंकले हालसम्म जम्मा १ अर्ब २० करोड भारु मात्र पाएको छ। भारतमा नोटबन्दी लागेका कारण आरबीआईबाट नेपाल राष्ट्र बैंकमा आउने विभिन्न दरका भारु नोट पनि रोकिएको थियो।

भारतले पाँच सय र हजार दरका भारतीय नोटमा प्रतिबन्ध लगाउनुका साथै अन्य दरका नोटको आपूर्ति पनि रोकेपछि नेपालमा भारु नोटको संकट गहिरिँदै गएको थियो। भारु नोटको संकट बढ्दै जाँदा दुई पक्षीय व्यापार र सर्वसाधारणको काममा समेत अप्ठ्यारो परिस्थिति उत्पन्न भएको थियो।

आरबीआईले नेपाल राष्ट्र बैंकलाई थप भारु उपलब्ध गराउने जानकारी दिए पनि नेपालमा रहेको भारु पाँच सय हजार दरका नोटको सटही भने अझै अन्योलमा रहेको छ। भारतमा पाँच सय हजार दरका नोट सटही गर्ने समय समाप्त भएको एक साता बितिसक्दा पनि नेपालमा रहेको पाँच सय हजार दरका नोट सटही गर्ने विषयमा भारतले ठोस जवाफ दिएको छैन।

राष्ट्र बैंकका अनुसार नेपालको बैंकिङ प्रणालीमा ३ अर्ब ३६ लाख ९० हजार भारु पाँच सय हजार दरका नोट रहेको छ। तर, भारतमा काम गर्न जाने नेपाली मजदूर, व्यवसायीसँग, उपचारमा जाने बिरामी र विद्यार्थीसँग गरी करिब १० अर्ब भारु पाँच सय हजार दरका नोट रहेको अनुमान गरिएको छ।

राष्ट्र बैंकले भारु पाँच सय र हजार दरका नोट सटही गर्न नसके पनि एनआईसी एसिया बैंकले आफूसँग रहेको ६२ लाख भारु भने सटही गर्न सफल भएको छ। नेपाल राष्ट्र बैंकको अनुमति लिएर स्टेट बैंक अफ इण्डिया (एसबीआई) मा रहेको बैंक खातामा सो रकम जम्मा गरी भारु सटही गरेको हो।

नेपालमा रहेको पाँच सय र हजार दरका नोट कसरी व्यवस्थापन गर्ने भन्ने विषयमा राष्ट्र बैंकले पहल गरिरहेको जनाएको छ। राष्ट्र बैंकले नोट सटही सहजीकरणका लागि डेपुटी गभर्नर चिन्तामणि शिवाकोटीको संयोजकत्वमा अध्ययन समितिसमेत गठन गरेको थियो। साथै नोट सटहीको सहजीकरणका लागि डेपुटी गभर्नर शिवाकोटीको नेतृत्वमा भारत जाने भनिए पनि अझै गएको छैन। भारतीय पक्षले नोट सटही गर्ने विषयमा ठोस जवाफ नदिएका कारण कसरी अगाडि बढ्ने भन्नेमा नेपाल राष्ट्र बैंक अन्योलमा रहेको छ।

नेपालस्थित भारतीय राजदूतावासले भारु सटहीको मोडालिटी बनाउन राष्ट्र बैंकलाई आग्रह गरेपछि शिवाकोटी समितिले मोडालिटी तयार गरेको थियो। नेपालमा रहेका नोट फिर्ता गराउन प्रधानमन्त्री, अर्थमन्त्री र राष्ट्र बैंकका गभर्नरले छुट्टछुट्टै पहल गरे पनि भारतले सटहीका सम्बन्धमा ठोस जवाफ अहिलेसम्म पठाएको छैन। जनवरीभित्रै नोटको अन्योल हट्ने आश्वासन पाएको राष्ट्र बैंक स्रोतले बतायो।

भारु पाँच सय र हजार दरका नोटमा प्रतिबन्ध लाग्नु र साना दरका नोटको आपूर्ति घट्दा नेपालमा भारु नोटको संकट गहिरिँदै गएको थियो। भारु नोटको अभाव हुँदा दुई देशबीचको व्यापार एवम् सर्वसाधारणको काममा समेत समस्या उत्पन्न हुँदै आएको थियो।

नेपाल राष्ट्र बैंकले व्यक्तिको उद्धेश्य हेरेर बढीमा २५ हजार भारुसम्म सटही गरिरहेको छ। नागरिकता सकल देखाएर २ हजार, सटहीको उद्धेश्य खुलाएमा बढीमा १० हजार र औषधि उपचारमा जानको लागि बढीमा २५ हजार भारु राष्ट्र बैंकले दिँदै आएको छ।

प्रतिक्रिया दिनुहोस्