१०५ वर्षको वृद्धको साइक्लिङमा कीर्तिमान



पेरिस, (एजेन्सी)
उनी तिब्र गतिका साइकल चालक नभए पनि सबैभन्दा वृद्ध साइकलचालक भने पक्का हुन्। फ्रान्सका रोबर्ट मार्साले १ सय ५ वर्षको उमेरमा पनि १ घण्टाभित्र सबैभन्दा लामो दूरीसम्म साइकल चलाएर आफ्नो नाममा कीर्तिमान राख्न सफल भएका छन्।

१ सय ५ वर्षमाथिको क्याटेगरीमा उनले नेसनल वेलोड्रोममा एक घण्टामा २२ दशमलव ५४७ किलोमिटर साइकल चलाएर कीर्तिमान कायम गरे। यसअघि सन् २०१२ मा पनि उनले यस्तै कार्यक्रममा १ सय वर्षको क्याटेगरीमा उनले साइकल चलाएर २६ दशमलव ९७२ किलोमिटरको लामो दूरी तय गरेको कीर्तिमान कायम गरेका थिए।

आफूले योभन्दा पनि राम्रो कीर्तिमान बनाउन सक्ने तर आफूले १० मिनेट मात्र बाँकी भएको सन्देश नदेखेको उनले बताए। बीएफएमटिभीलाई उनले भने– ‘मेरो खुट्टा दुखेको थिएन तर मेरो हातमा जोर्नीका कारण पीडा भइरहेको थियो।’
उनी आफैंले पहिलाजस्तै प्रदर्शन राम्रो हुने अपेक्षा गरेका थिएनन् , उनले भने– ‘म च्याम्पियन बन्नका लागि यहाँ आएको होइन। म त १०५ वर्षको उमेरमा पनि तपाईं साइकल चलाउन सक्नुहुन्छ भन्ने प्रमाणित गर्न आएको हुँ।
१ सय ५ वर्षका रोबर्टले साइकल चलाएको हेर्न सयौं मानिसको भिड लागेको थियो। सन् १९११ नोभेम्बर २६ मा जन्मेका रोबर्टको तन्दुरुस्त स्वास्थ्यको रहस्य उनको खानपान र व्यायाममा लुकेको छ। उनी धेरै फलपूmल र सागसब्जीसँगै मासु पनि खान्छन्। कफी कममात्र पिउँछन् र हरेक दिन एक घण्टा घरमै साइकल चलाउँछन्।

उनी द्वितीय विश्वयुद्धमा युद्धबन्दी पनि बनेका थिए। उनले क्यानाडा र भेनेजुयलामा पनि काम गरिसकेका छन्। कुनैबेला उनी राष्ट्रियस्तरका जिमन्यास्ट र बक्सर पनि रहेका थिए।

प्रतिक्रिया दिनुहोस्