शेर र बाघ पाल्न निषेध



दुबई, (एजेन्सी)
संयुक्त अरब इमिरेट्समा शेर र बाघजस्ता हिंस्रक जनावरलाई पाल्नु अब गैरकानुनी हुनेछ। केही खाडी देशमा चितुवा पाल्तु जनावरका रूपमा राख्नुलाई प्रतिष्ठाको प्रतीकका रूपमा लिने गरिन्छ।

दुबईमा सौखका रूपमा शेर, चितुवा र बाघ पाल्नु सामान्य मानिन्छ। तर नयाँ कानुनले अब यस्ता जनावरलाई घरपालुवा बनाउनेलाई जेल सजायँ हुन सक्छ वा जरिवाना तिर्नुपर्ने हुन्छ।

विगत केही दिनहरूमा बाघलाई लिएर घुम्न निस्केकाहरूको तस्वीर सामाजिक सञ्जालमा पोस्ट गरिएका थिए। यसअघि पनि अक्टोबरमा दुबईको तटमा गाडीको पछाडि राखिएका पाँचवटा शेरको एउटा भिडियो पोस्ट गरेका थिए।

अधिकारीहरूले यसरी खुला रूपमा घुम्ने जनावरबाट अरूको सुरक्षाका लागि खतरानाक हुनसक्नेमा चिन्ता व्यक्त गरेका थिए।

गल्फ न्युजको समाचारमा सबै प्रकारका जंगली जनावरलाई पाल्तु बनाउनका लागि योग्य हुने तर खतरनाक जनावरलाई पाल्नु भने गैरकानुनी हुने उल्लेख गरेको छ। अबदेखि ती जनावरलाई चिडियाखाना, वन्यजन्तु निकुञ्ज, सर्कस, प्रजनन् केन्द्र र अनुसन्धान केन्द्रमा मात्र राख्न सकिन्छ।

नयाँ कानुनअनुसार बाघ तथा अन्य विदेशी जनावरलाई सार्वजनिक स्थानहरूमा लैजानेहरूलाई ६ महिनाको जेल र १ लाख ३६ हजार डलर जरिवाना हुनेछ।

यद्यपि कुकुरजस्ता परम्परागत पाल्तु पशुहरूका मालिकमाथि पनि यो कानुन लागू हुनेछ। कुकुरका मालिकले पनि त्यसका लागि स्विकृति लिनुपर्नेछ र उनीहरूले सार्वजनिक स्थानमा कुकुरलाई आफ्नो निगरानीमा राख्नुपर्नेछ।

यो नियम पालना नगर्नेलाई २७ हजार २ सय डलर जरिवाना तिराइनेछ। आफ्नो कुकुरलाई खतरनाक रोग विरुद्धको खोप नलगाउने मालिकहरूमाथि पनि जरिवाना तिराइनेछ।

प्रतिक्रिया दिनुहोस्