कसरी पास भयो १५ करोडको सुन ?



ईश्वरराज ढकाल, काठमाडौं
एअर अरेबियाको विमानबाट काठमाडौं ल्याइएको सुन विमानस्थलको भन्सार पास गरेर सुरक्षित स्थानतर्फ लगिँदै गर्दा केन्द्रीय अनुसन्धान ब्युरो सीआईबीको टोलीले तीन जनालाई पक्राउ गरेको छ। भन्सार पास गरेर सुरक्षित गन्तव्यतर्फ जाँदै गरेका नेपालगन्जका गोपालबहादुर शाहीलाई प्रहरीले पक्राउ गरेको हो।

भाडाको टइक्सीमा सुन बोकेर गन्तव्यतर्फ जाँदै गरेको अवस्थामा उनलाई पिंगलास्थान नजिकै खानतलासी गरी पक्राउ गरिएको थियो। ब्युरोको ४ नम्बर पिलर इन्चार्ज डीएसपी प्रवीण पोखरेलको टोलीले शाहीलाई पक्रेपछि उनले नै सुन नेपालमा जिम्मा लिन आएका दुई जनालाई बोलाएका थिए।

विदेशबाट तस्करी गरी ल्याइएको सुन जिम्मा लगाउन दीनबन्धु थापा र सन्तोष काफ्ले आएका थिए। सुन लिन आएका दुई जनालाई समेत प्रहरीले पक्राउ गरेको छ।

ब्युरोका प्रवक्ता एसएसपी मीरा चौधरीका अनुसार उक्त सुन करिब ३३ किलो रहेको थियो। उहाँले कति किलोको छ भन्ने विषयमा पूर्ण जानकारी लिन आज सुन–चाँदी व्यावसायीको सहयोग लिनुपर्ने बताउनुभयो। १० तोलाको दरमा २ सय ८२ पिस सुनका विस्कुट, १९ थान औंठी र २० थान सिक्रीजस्तै आकारका सुनका मालाहरु छन्। विशेष सूचनाको आधारमा ब्युरोको टोलीले सुन बरामद गरेको थियो। दुई फरकफरक लगेजभित्र प्लास्टिकले र्याप गरेर सुन ल्याइएको थियो। कडा सुरक्षा घेरा पास गरी सजिलै सुन आउनु शंकास्पद घटना भएको ब्युरो प्रमुख डीआईजी नवराज सिलवालले बताउनुभयो। उहाँले भन्नुभयो– ‘कसरी सुन सजिलै सुरक्षा जाँच कटाइयो भन्नेबारे अनुसन्धान गर्नेछौं।’

बरामद गरिएको सुनको बजार मूल्य झन्डै १५ करोड रुपियाँभन्दा बढी छ। पक्राउ परेका शाहीले विमानस्थलका अधिकारीको सेटिङमा सुन ल्याएको प्रहरीसमक्ष बताएका छन्। यस विषयमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ। यूएईबाट नेपाल आउनेलाई सुन पठाउन गिरोह नै सक्रिय रहेको प्रहरीले दाबी गरेको छ। करिब डेढ महिनाअघि प्रहरीले बौद्धबाट १० किलो सुन बरामद गरेको थियो। तथ्याङ्कअनुसार २०६९⁄२०७० मा करिब २३ करोड अन्दाजी मूल्यको ८३ किलो, २०७०⁄७१ मा ५४ करोड ६७ लाख ५१ हजार ३ सय ९८ मूल्यको ८९ किलो र २०७१⁄०७२ मा ५१ करोड ४ लाख १ सय २० मूल्यको १ सय ११ किलो सुन विभिन्न मिति र स्थानमा बरामद गरिएको थियो।

भन्सार चेकजाँच पास गरी करोडौं मूल्य बराबरको सुन तस्करी हुनुमा सरकारकै गल्ती रहेको सुनचाँदी व्यवसायीले जनाएका छन्। सरकारले व्यवसायीलाई आवश्यक परिमाणमा सुन नदिएका कारण तस्करीको सुन किन्न बाध्य हुनुपरेको छ। नेपाल सुनचाँदी व्यावसायी महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले सरकारले आवश्यकताअनुसारको सुन नदिँदा समस्या आएको बताउँदै भन्नुभयो– ‘यस्तै कारणबाट पनि सुन तस्करी बढेको हुनसक्छ।’ उहाँले दैनिक करिब ३० केजी सुन खपत हुने मुलुकमा करिब १५ केजी मात्रै सुन उपलब्ध गराउँदा समस्या आएको हुनसक्ने दाबी गर्नुभयो।

उहाँले भन्नुभयो– ‘हामी त साना व्यावसायी सरकारले कोटा दिएअनुसार सुन प्रयोग गर्छौं, तर सुन व्यवासाय गर्ने अनि सरकारले दिएको सुनले काम नचल्ने भएपछि के गर्ने? यसै कारणबाट तस्करी बढेको हुनसक्छ।’ देशभर करिब २३ हजार सुनचाँदी व्यावसायी छन्। दैनिक १५ केजी सुन भागवण्डा गर्दा त पौने ग्राम मात्र आउँछ, पौने ग्राम सुनले के गर्ने? पसल चलाउने कि बन्द गर्ने? उहाँको प्रश्न थियो। नेपाल राष्ट्र बैंकले गत वर्षसम्म लगनमा २५ किलो सुन उपलब्ध गर्ने गरेकामा अहिले घटाएर १५ किलोमा झार्दा समस्या बढेको हो।

हामी महासंघमा दर्ता भएका व्यवसायीले त सरकारले तोकेअनुसार सुन प्रयोग गर्लान्, दर्ता नभएका व्यावसायीले के गर्लान्? सामान्य अड्कल गर्न सकिने बताउँदै नेपाल सुनचाँदी व्यावसायी महासंघका अध्यक्ष मोहन सुनारले यस विषयमा सरकार गम्भीर भएर तत्काल कोटा बढाउनुपर्ने बताउनुभयो। उहाँले सुनको मागअनुसार सरकारले पूर्ति गर्न नसके तस्कर फस्टाउनु स्वाभाविक भएको औंल्याउँदै यस विषयमा बेलैमा गम्भीर हुनुपर्ने बताउनुभयो।

उहाँले भन्नुभयो– ‘कोटा बढाउन माग गर्दै हामीले राष्ट्र बैंकका गभर्नरसँग समेत भेट गर्यौं, उहाँले सरकारले केही सकारात्मक कदम चाल्नेछ भन्नुभएको छ।’ तर पूर्वअध्यक्ष शाक्यले भने कोटा नबढाए तस्कर मौलाएर नेपालको र राजस्वमा करोडौं घाटा लाग्न सक्ने दाबी गर्नुभयो। उहाँले सरकारकै कारण सुन तस्कर बढेको दाबी गर्दै भन्नुभयो– ‘बेलैमा व्यवसायीले चाहेअनुसार सुन नदिएपछि यस्तो घटनामा वृद्धि हुन सक्छ।’

सुन व्यवसायीलाई काम गर्ने वातावरण बनाएर आवश्यकताअनुसारको सुन उपलब्ध गराए यस्ता समस्या नआउने व्यवसायीको दाबी थियो। राष्ट्र बैंकका प्रवक्ता नारायणप्रसाद पौडेलले सुन कसरी तस्करी हुन्छ भन्ने विषयमा अनुसन्धान गर्नुपर्ने बताउनुभयो। उहाँले भन्नुभयो– ‘व्यवसायीले माग गरेअनुसार सुन उपलब्ध गराउने कि नगराउने भन्ने विषयमा छलफल भइरहेको जानकारी गराउँदै भन्नुभयो– ‘बैंकको बोर्ड बैठक बस्दै छ। निर्णय भएपछि सार्वजनिक गरौंला।’ उहाँले कम सुन उपलब्ध गराएका कारण तस्कर बढेको विषय गलत भएको दाबी गर्नुभयो। राष्ट्र बैंकले उपलब्ध गराएको दैनिक १५ किलो सुन कहाँ उपभोग हुन्छ भन्ने विषयमा समेत अनुसन्धान गर्नुपर्ने उहाँको तर्क थियो।

प्रतिक्रिया दिनुहोस्