२४ गते संशोधन प्रस्ताव टेबुल गर्ने सहमति संशोधनमाथि संशोधन हाल्ने मोर्चाको तयारी



बीपी साह, काठमाडौं

सत्तारुढ दल र संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाबीच सरकारले दर्ता गराएको संविधान संशोधन विधेयक टेबुल गर्ने सहमति भएको छ। पुस २४ गते बस्ने व्यवस्थापिका संसद्को बैठकमा सरकारले संशोधन विधेयक टेबुल गर्ने नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र मधेसी मोर्चाबीच सहमति भएको हो।

प्रधानमन्त्री एवं माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बिहीबार प्रधानमन्त्री निवास बालुवाटारमा बोलाउनुभएको तीन पक्षको बैठकमा संशोधन विधेयक टेबल गर्ने सहमति भएको हो। बैठकमा प्रधानमन्त्री प्रचण्डले पुस २४ गते जसरी पनि संशोधन विधेयक टेबल गर्ने प्रतिबद्धता जनाएपछि मोर्चाका नेताहरूले सहयोग गर्ने बताएका थिए।

मधेसी मोर्चाको तर्फबाट बैठकमा बोल्दै सद्भावना पार्टीका अध्यक्ष राजेन्द्र महतोले पुस २४ गतेको संसद् बैठकमा संशोधन विधेयक टेबल गर्न आग्रह गर्नुभएको थियो। महतोले मधेस आन्दोलनका क्रममा लागेका मुद्दाहरू फिर्ता नभएकोप्रति ध्यानाकर्षण गराउँदै र सरकारले धमाधम गरिरहेको नियुक्तिहरू असमावेशी रहेको बताउनुभएको थियो। उहाँले न्यायाधीश नियुक्त गर्दा समावेशी तरिकाले गर्न पनि माग गर्नुभयो।

संशोधनका विषयमा प्रधानमन्त्री प्रचण्डले पुस २४ गते संशोधन विधेयक टेबल हुने जवाफ दिनुभएको थियो। प्रचण्डले मुद्दा फिर्ता प्रक्रिया अगाडि बढिसकेको बताउनुहुँदै मोर्चाका मागहरू पूरा भइरहेको जनाउनुभयो।
बैठकपछि नेपाल समाचारपत्रसँग कुराकानी गर्दै अध्यक्ष महतोले भन्नुभयो– ‘मोर्चा र सत्तारुढ दलबीच पुस २४ गते संशोधन विधेयक टेबुल गर्ने सहमति भएको हो। कांग्रेस र माओवादी टेबुल गर्न र पारित गराउन तयार देखिएका छन्।’

प्रधानन्त्रीको भनाइ उद्धृत गर्दै महतोले भन्नुभयो– ‘२४ गते संशोधन विधेयक टेबल हुन्छ। तपार्इंहरूको सहयोग र समर्थन आवश्यक छ।’ बैठकमा नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पनि संशोधन विधेयक टेबुल गर्ने विषयमा कांग्रेस एकढिक्का रहेको बताउनुभएको थियो। उहाँले संशोधन विधेयक पारित गराउने प्रतिबद्धता पनि व्यक्त गर्नुभयो।

बैठकपछि बाहिरिएका अधिकांश नेताहरूले संविधान संशोधन पारित हुने वातावरण बनेको प्रतिक्रिया दिनुभएको थियो। उहाँहरूले मधेसी मोर्चा केही विषयमा लचिलो भएको र पहिले संशोधन टेबुल गर्न माग गरेको बताउनुभएको थियो।

बैठकपछि तराई मधेस लोकतान्त्रिक पार्टीका उपाध्यक्ष वृशेषचन्द्र लालले पहिले संसद् खुल्नुपर्ने बताउनुहुँदै नेपाल समाचारपत्रसँग भन्नुभयो– ‘संसद् खुलेको खण्डमा संशोधन विधेयक टेबल हुने हो। त्यसपछि संशोधन परिमार्जनका कुरा आउनेछ। संशोधनसहित पारित गर्नमा मधेसी मोर्चाले सहयोग गर्ने प्रतिबद्धता जनाएको छ।’

बैठकमा माओवादीका तर्फबाट प्रचण्डसहित वर्षमान पुन, मातृका यादवलगायतका नेताहरू सहभागी थिए भने कांग्रेसको तर्फबाट पौडेल र अन्तिममा गृहमन्त्री विमलेन्द्र निधि सहभागी भएका थिए। मधेसी मोर्चाका तर्फबाट तमलोपा अध्यक्ष महन्थ ठाकुर, सद्भावना अध्यक्ष महतो, रामसपा अध्यक्ष शरदसिंह भण्डारी, नेसपा अध्यक्ष अनीलकुमार झा, फोरम गणतान्त्रिकका अध्यक्ष राजकिशोर यादवलगायतको सहभागिता रहेको थियो।

संविधान संशोधन विधेयक टेबल भएपछि संशोधनलाई परिमार्जनका लागि संयुक्त लोकतान्त्रिक मधेसी मोर्चाले संशोधन हाल्ने तयारी गरेको छ। ‘संशोधन टेबल भएपछि जस्ताकोत्यस्तै पारित भए मधेसी मोर्चालाई मान्य हुनेछैन। संशोधनमा परिमार्जन आवश्यक छ’, मोर्चाका घटक तराई मधेस लोकतान्त्रिक पार्टीका अध्यक्ष महन्थ ठाकुरले भन्नुभयो– ‘सरकारले दर्ता गराएको संशोधनमाथि मधेसी मोर्चाले पनि संशोधन हाल्नेछ र दुई तिहाइबाट पारित गराउनेछ।’

बिहीबार सञ्चारकर्मीसँगको कुराकानीमा अध्यक्ष ठाकुरले अहिलेकै अवस्थामा सीमांकन हेरफेर गर्न असजिलो भए धारा २७४ लाई खारेज गरेर पनि सीमांकन हेरफेर गरिनुपर्ने बताउनुभयो। उहाँले संशोधन नभए मोर्चाले आन्दोलनको तयारी पनि सँगै गरिरहेको जानकारी दिनुभयो।

प्रतिक्रिया दिनुहोस्