चिसोले अनाथ बालबालिकाको बिचल्ली



धनवीर दाहाल, रुकुम
रुकुमको काँक्री गाविसका अभिभावकविहीन बालबालिकाको चिसोका कारण बिचल्ली भएको छ। काँक्री गाविस–७ का आमाबुबा दुवै गुमाएका चार बालबालिकालाई यतिबेला निकै बिचल्ली रहेको छ। अत्यधिक चिसोका कारण पनि उनीहरूलाई स्वास्थ्य समस्या पनि बढ्दै गएको छ। काँक्री–९ का एकै घरका चार भाइबहिनी यति बेला सहाराविहीन बनेका हुन्। १३ वर्षका अलबहादुर रोका, ११ वर्षका लीलाबहादुर रोका, ९ वर्षीया टिसकुमारी रोका र ५ वर्षका किस्मत रोकाको आमा र बुबाको मृत्यु भइसकेको छ। उनीहरूका बुबा रामधन रोकाको ५ वर्षअघि मृत्यु भइसकेको छ भने आमा ज्ञानमाया रोकाको ५ महिनाअघि मृत्यु भइसकेको छ।

आफन्तको घरमा बस्दै आएका यी बालबालिकाको शिक्षाको त कुरै छाडौं लगाउने कपडा र साँझ–बिहान खानसमेत नभएपछि झनै बिचल्ली भएको छ। उनीहरूको अवस्थालाई मध्यनजर गरी जिल्ला बाल कल्याण समिति रुकुमले सामान्य पोशाक स्वरूप १० हजार रुपियाँ सहयोग गर्ने बताए पनि सो रकमले उनीहरूलाई केही पनि नपुग्ने स्पष्ट देखिएको छ। उनीहरूको अवस्थाबारे जानकारी तथा सहयोगका लागि सबै निकायलाई अनुरोध गरिएको जिल्ला बाल अधिकार अधिकृत मानवीर ओलीले बताउनुभयो। सहाराविहीन ती बालबालिकालाई सहयोगका लागि उनका आफन्तले समेत आग्रह गरेका छन्। रुकुमको महत गाविस–१ मा आफन्तको घरमा बस्दै आएका ती बालबालिकालाई सहयोग गरिदिन अनुरोध गरेको महत निवासी गन्जबहादुर ओलीले बताउनुभयो। गरिबीका कारण पीडा खेपिरहेका उनीहरूका आमाबुबाको औषधी उपचार गर्न नसकेर ज्यान गरेको हो।

प्रतिक्रिया दिनुहोस्