स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग



नेपाल समाचारपत्र
काठमाडौं
तीन ठूला विद्यार्थी संगठनले तत्काल स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेका छन्। त्रिभुवन विश्वविद्यालयले त्रिवि सभाबाट निर्वाचनको मिति घोषणा गरेको भोलिपल्टै नेविसंघ, अनेरास्ववियु र अखिल क्रान्तिकारीले कार्यतालिका सार्वजनिक गर्न माग गरेको हो। नेविसंघका अध्यक्ष नैनसिंह महरले सबै विद्यार्थी संगठन निर्वाचन गर्न तयार भइसकेको अवस्थामा त्रिविले तत्काल कार्यतालिका सार्वजनिक गर्नुको विकल्प नभएको बताउनुभयो। उहाँले भन्नुभयो– ‘सबै संगठन निर्वाचनमा जान तयार भइसकेका छन्, यस्तो सहज अवस्थामा तत्काल निर्वाचन कार्यतालिका सार्वजनिक गर्नुपर्छ।’ नेकपा माओवादी केन्द्र निकट विद्यार्थी संगठनका उपाध्यक्ष एवं प्रवक्ता सुरेन्द्र बस्नेतले त्रिवि सभाबाट निर्वाचनको मिति घोषणा गरिसकेको अवस्थामा यसलाई रोक्न नहुने बताउँदै तत्काल कार्यतालिका सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

तर, सोही पार्टीका अध्यक्ष एवं त्रिविका कुलपति पुष्पकमल दाहालले सरकार स्थानीय निर्वाचनको तयारीमा रहेको अवस्थामा तत्काल स्ववियुको निर्वाचन हुन नसक्ने आशय व्यक्त गर्नुभएको थियो। सबै दलका नेतासँग भएको सहमतिअनुसार फागुन १४ गते नै निर्वाचन हुनुपर्ने अडान राख्दै उहाँले कसले के भन्छन् भन्दा पनि त्रिविले तत्काल कार्यतालिका सार्वजनिक गर्नु उचित रहेको उल्लेख गर्नुभयो।

उता अनेरास्ववियुले हिजो बिहीबार पत्रकार सम्मेलन आयोजना गरी एक साताभित्र स्ववियु निर्वाचनको कार्यतालिका सार्वजनिक गर्न माग गरेको छ। पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष नवीना लामाले फागुन १४ मा चुनाव गर्ने भनिए पनि अब समय धेरै बाँकी नरहेकाले एक साताभित्र निर्वाचन तालिका सार्वजनिक गर्नुपर्ने बताउनुभयो।

‘कसैबाट चुनाव भाड्ने षड्यन्त्र भयो भने अनेरास्ववियु आन्दोलनमा उत्रनेछ’ –त्रिविलाई चेतावनी दिँदै लामाले भन्नुभयो। सबै विद्यार्थी संगठनबीच निर्वाचन गर्ने सहमति भइसकेका बेला कसैले पनि भाड्न उचित नहुने भन्दै उहाँले यसअघि पटक–पटक स्ववियु निर्वाचनको मिति तोकिएर केही संगठनले हार्ने डरका कारण चुनाव हुन नदिएको आरोप लगाई कुनै पनि हालतमा एक साताभित्र कार्यतालिका सार्वजनिक गर्न माग गर्नुभएको छ।

प्रतिक्रिया दिनुहोस्