तीता–मीठा घटनाबीच सम्पन्न सातौं राष्ट्रिय खेलकुद



कविरस शर्मा

गत शुक्रबार आठौं राष्ट्रिय खेलकुद प्रतियोगिता मध्यपश्चिमाञ्चलको नेपालगन्जमा हुने घोषणा गर्दै सातौं राष्ट्रिय खेलकुद प्रतियोगिता सम्पन्न भयो । सो अवसरमा युवा तथा खेलकुदमन्त्री दलजित श्रीपाइलीले छोटो तयारी र भौतिक पूर्वाधारको अभाव हुँदाहुँदै पनि देशभरका खेलाडीले बडो उत्साह र गौरवका साथ प्रतियोगितामा सहभागी भएको बताएका थिए । प्रतियोगितालाई सम्पन्न गराएको तथा केही खेलाडीले नयाँ कीर्तिमानसमेत हासिल गर्न सफल भएकोमा त्यसलाई ठूलो सफलताका रूपमा लिएको समेत बताए ।

यता राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव केशवकुमार विष्टले मध्यपश्चिमाञ्चलमा आठौं राष्ट्रिय खेल हुने निश्चित भएकाले त्यसका लागि तयारीका काम तीब्र गतिमा थालनी हुने जानकारी दिए । वास्तवमा राष्ट्रिय खेलकूद प्रतियोगिता तोकिएकै समय आयोजना गर्न सकेमा यसले खेल विकासमा नयाँ आयाम थपिनेमा दुई मत नहोला । तर यसपटकको राष्ट्रिय खेलकूद प्रतियोगिताबाट मध्यपश्चिमले भने केही पाठ सिक्नुपर्ने देखिन्छ । खेलकूद मन्त्री र सदस्य सचिवले भनेजस्तै यसपटकको प्रतियोगिता सफलतापूर्वक सम्पन्न भए पनि योसँगै धेरै त्रुटिहरू पनि देखा परेका थिए ।

पूर्वाञ्चलमा आयोजित सातौँ राष्ट्रिय खेलकुद प्रतियोगिता धेरै कमीकमजोरीसहित सम्पन्न भएको भन्दा फरक नपर्ला । गत पुस ८ देखि १५ गतेसम्म सफलतापूर्वक चलेको उक्त प्रतियोगितामा भौतिक पूर्वाधारका कमीकमजोरीहरू पनि प्रष्टिएका थिए । नेपाली खेलकुदको ओलम्पिकको रूपमा रहेको उक्त प्रतियोगिताको केही खेलहरूमा विवाद भए भने केहीमा खेलाडीहरूले चरम अनुशासनहीनताको नमूनासमेत प्रस्तुत गरेका थिए । यस्तै खेलस्थलको अपुरो अवस्थादेखि खेलाडीहरूको वासस्थान र व्यवस्थापनमा समेत त्रुटिहरू देखिए ।

प्रत्येक दुई वर्षमा आयोजना हुनुपर्ने प्रतियोगिता यसअघि तीनपटक मिति सारेर चौथोपटक घोषणा गरिएको थियो । भारतीय नाकाबन्दी, भूकम्प, र खेल पूर्वाधारको कमिजस्ता यावत कारणले प्रतियोगिताको मिति बारम्बार सारिएको थियो । यसका बावजूद पनि प्रतियोगिता आयोजनाको जमर्को गर्नु सुखद् पक्ष थियो । तर पूर्वाधारको उचित व्यवस्थाबिना नै प्रतियोगिता सञ्चालन हुँदा खेलाडीहरू त्यसको प्रत्यक्ष मारमा परे ।

एकातिर खेल हुँदै, अर्काेतिर पूर्वाधार तयार गर्दै गर्दा राष्ट्रिय खेलकुदको प्रतियोगिताको गरिमामाथि नै प्रश्न चिन्ह खडा भयो । नेपाली खेलकुदको उक्त कुम्भमेलाका लागि करिब ३१ करोड रुपियाँको बजेटमा पनि अभावहरू देखिए । यथेष्ट सामग्रीबिना नै प्रतियोगिता गराइनु र केही स्पर्धा आवश्यक संरचनाबिना नै त्रिपालमुनि सञ्चालन गर्नाले यस बृहत खेल महोत्सवको स्तर खस्केको बोध गराएको थियो ।

तुलनात्मक रूपमा ५ वर्षअगाडि सम्पन्न राष्ट्रिय खेलकूद प्रतियोगिताको छैठौं संस्करणमा भन्दा यसपटकको खेलाडी भत्तामा ६ सय रुपियाँ वृद्धि स्वागतयोग्य थियो । जसअनुसार आठ दिनसम्म चलेको उक्त प्रतियोगितामा राष्ट्रिय खेलकुद परिषद्ले प्रत्येक खेलाडीलाई दैनिक १४ सयको दरले भत्ता वितरण गरेको थियो । अनि रकम अनियमितता नहोस् भनेर खेलाडी आफैंले भत्ता बुझ्नु नियम सकरात्मक कदम थियो ।

तर पाँच वर्षको अन्तरालमा ६ सय रुपियाँ वृद्धिले महंगाइको मारलाई भने खप्न असहज बन्यो । आयोजनास्थलको अवस्था र महंगाइका कारण धेरै जसो खेलाडीले उक्त रकम अपुग भन्दै विरोधसमेत गरेका थिए । कतिपय खेलाडीहरूले खानपान, होटलमा बस्न र यातायात खर्चमा देखिएको महंगाइका कारण उक्त रकम अपुग भएको बताएका थिए । जसका कारण होटलको एउटै कोठामा तोकिएको भन्दा दोब्बर संख्यामा खेलाडीहरू बस्नुपरेको बाध्यतासम्म देखिएको थियो । विशेष गरी सुदूरपश्चिमका पहाडी जिल्लाबाट सहभागी खेलाडीहरूले भत्ताबापत प्राप्त रकम गाडी भाडा र खानपानमा नै सकिएका कारण प्रतियोगिताको अन्तिम दिनसम्म व्यवस्था गर्न कठिनाइ भएको गुनासो पोखेका थिए ।

यसपटक खेल पूर्वाधार निर्माणका लागि सरकारले मोटो रकम उपलब्ध गराइएको भनिए पनि खेलस्थलको अवस्थाले त्यो पुष्टि हुन सकेन । केही खेलका पूर्वाधारको अभाव, अँध्यारो कभर्डहल र पालमुनिको प्रतियोगिताबाट यो छर्ल· बन्यो । यसले प्रतियोगिता सम्पन्न गराउनेतिर मात्र आयोजक पक्ष केन्द्रित भएको भान गरायो । कुनैकुनै खेलमा त यतिसम्मको हेल्चेक्र्याइँ भएको थियो कि कभर्डहलभित्र नै खेलाउनुपर्ने प्रतियोगितासमेत खुला आकाशमुनि खेलाइए ।
अनुशासनबिनाको खेल कल्पना पनि गर्न सकिन्न । तर यसपटक सातौं राष्ट्रिय प्रतियोगिताको केही खेलमा खेलाडीले अनुशासन तोडेका घटनाहरूले भने राष्ट्रिय खेलकूद प्रतियोगिताको गरिमामाथि नै ब्यंग्य गर्यो । प्रतियोगिता भइरहँदा खेलाडीले आफ्नो अनुशासन बिर्सेर मैदानमा झै–झगडा गर्नुदेखि खेल निष्पक्ष रूपमा नखेलाइएको भन्दै खेलका प्रशिक्षकलाई समेत खेलाडीले हातपात गर्नु लज्जाजनक घटना बन्यो । खेलाडी त खेलाडी निर्णायकसमेत खेल अनुशासन तोड्न पछि परेनन् । निर्णायकले नौलो नियम लागू गर्दा खेलको अस्तित्वमाथि नै प्रश्न चिन्ह खडा भएको थियो ।

महिला क्रिकेटमा पूर्वाञ्चल र एपीएफको खेल विवादमा तानियो भने पुरुष फुटबलमा नेपाल आर्मी र मध्यमाञ्चलबीचको खेलमा समेत लाजमर्दो स्थिति सिर्जना भएको थियो । धरान रंगशालामा भएको सेमिफाइनलको विजेताको नतिजा अर्को दिन मात्र टुंगो लगाउने निर्णय निर्णायकबाट भएको थियो । जसअनुसार मध्यमाञ्चलसँग बराबरी खेलेको आर्मीले भोलिपल्ट मात्र ट्राइब्रेकरको सहारामा जितको नतिजा आत्मसात गरेको थियो ।

यस्तै अवस्था बक्सिंगमा पनि देखा परेको थियो । चन्द्रगढीस्थित मेची रंगशालामा पूर्वाञ्चलका खेलाडी पराजित भएपछि घरेलु क्षेत्रका समर्थकहरूले प्रतियोगिता सञ्चालनमा नै अवरोध पुर्याएका थिए । जसका कारण सोही दिन तोकिएका बाउटहरू भोलिपल्ट मात्र बाक्लो प्रहरी सुरक्षा सहयोगमा सञ्चालन गर्नुपरेको थियो ।

विराटनगरमा राष्ट्रपति विद्यादेवी भण्डारीले उद्घाटन गर्दा जति खेलाडी मार्चपासमा सहभागी थिए, त्यो समापन समारोहमा दोहोरिएन । धरानमा उपराष्ट्रपति नन्दबहादुर पुनले समापन गरेको बृहत राष्ट्रिय खेलकुद प्रतियोगिताको दौरान प्रायःजसो क्षेत्रका खेलाडीहरूको उपस्थिति न्यून थियो । जसमध्ये कुनैकुनै क्षेत्रको प्लेकार्ड बोकेर मार्चपासको नेतृत्व गर्ने युवतीहरू एक्लाएक्लै मैदानमा हिँडेको समेत देखिएको थियो । प्रतियोगितामा दर्शकको न्यून उपस्थिति, पदक, सिल्ड, प्रमाणपत्र वितरणका बेला अतिथिहरूको अभावका कारण यस पटकको प्रतियोगितामा खल्लोपन देखियो । यी सबै घटनाक्रमलाई सूक्ष्म रूपले विश्लेषण गरी मध्यपश्चिमले आगामी आठौं राष्ट्रिय खेलकूद प्रतियोगिताको खाका कोरेमा मात्र राष्ट्रिय खेलकूद प्रतियोगिताको स्तरले सही उचाइ पाउनेछ ।

प्रतिक्रिया दिनुहोस्