एउटै अंकको चिठ्ठा किन्दा भाग्य खुल्यो



मोन्ट्रियल, (एजेन्सी)
झण्डै तीस वर्षदेखि एउटै अंकका चिठा किन्दै आएकी क्यानाडाकी एक महिलाले अन्ततः ३९ लाख अमेरिकी डलर धनराशिको ज्याकपोट जितेकी छिन्। नोभा स्कोसियाको इस्टर्न प्यासेजमा बसोबास गर्दै आएकी ओल्गा बेनोले सन् १९८९ को मे महिनामा आफूलाई सोही अंकका चिठ्ठा परेको सपना देखेकी थिइन्।

त्यस बेलादेखि उनले नियमित रूपमा ती अंकका चिठ्ठा खरिद गर्दै आएकी हुन्। क्यान्सर रोगको उचार खर्च जुटाउन घरसमेत बेचेकी उनले अब यस पैसाबाट सबैभन्दा पहिला एउटा राम्रो घर बनाउने योजना बनाएकी छिन्।

बेनोलाई उद्धृत गर्दै एटलान्टिक लटरीले जनाएको छ, ‘मलाई मेरो चिठाको अंक कण्ठै थियो। चिठा खाोलिएको साँझ टेलिभिजन स्क्रिनमा त्यही अंक देखेजस्तो लागेको थियो।’

तर मेरो आँखा निकै धमिलो भएकाले म अलमलिएँ र त्यसै सुतेँ। भोलिपल्ट बिहान मैले बल्ल मेरो चिठ्ठाको अंक अखवबारमा छापिएको देखेँ। शुरूमा त पत्याउनै गार्हो भयो।

कतै अखबारमा गलत पो छापिएको हो कि जस्तो पनि लाग्यो। अनि बहिनीलाई मैले चिठा जितेजस्तो छ भनेँ। उनले कुरा साँचो भयो भने कलब्याक गर्न भनिन्। २८ डिसेम्बरमा गरिएको ड्र सो रकम बराबरको पुरस्कार जित्ने उनी दोस्रो व्यक्ति हुन्। अर्को टिकट वेस्टर्न क्यानाडामा बेचिएको थियो।

दश वर्षअघि उनलाई स्टेज फोरको क्यान्सर भएको पत्ता लागेपछि उनी घर बेच्न बाध्य भएकी थिइन्। उनले आफ्नो पति, छोराछोरी र नाती नातिनाले आफूलाई क्यान्सरबाट बच्न सहयोग गरेको र अब आफूले तिनीहरूलाई डिस्नी वल्र्डमा घुमाउन लाने विचार गरेको बताएकी छिन्।

प्रतिक्रिया दिनुहोस्