राष्ट्रिय फुटबल रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास



लमजुङ, २१ पुस । पूर्व राष्ट्रिय खेलाडी तथा रेफ्री सुरज मानन्धरले खेल जीवनबाट सन्यास लिनुभएको छ । त्रिवेणी कप खेलाउन बेसीसहर आउनुभएका मानन्धरले बुधबार एक विज्ञप्ति जारी गरी खेलबाट सन्यास लिनुभएको हो ।

आफ्नो जिवनमा १४ वर्ष खेलाडी र १४ वर्ष रेफ्रीको भूमिका निर्वाह गर्नुभएका मानन्धरले सबैभन्दा धेरै समय त्रिवेणी कप खेलाएको भन्दै लमजुङमा भएको २५ औँ त्रिवेणी कप प्रतियोगिता पछि औपचारिकरुपमा सन्यास लिएको बताउनुभयो ।

विसं २०४६ बाट काठमाडौँस्थित ब्वाइज स्पोट्र्स क्लबमार्फत खेलको सुरु गर्नुभएका मानन्धरले मनाङ मस्र्याङ्दी, एनआरटीलगायतका क्लबबाट राष्ट्रिय तथा अन्तर्राष्ट्रिय खेलमा सहभागी हुनुभएको थियो । उहाँले २०५९ मै व्यावसायिक खेल जीवनबाट सन्यास लिनुभएको थियो ।

रेफ्री बनेपछि हालसम्म ४७ प्रतियोगितामा ९७ खेल खेलाउनु भएका उहाँले अब नयाँ पुस्तालाई स्थान दिनको निम्ति आफूले खेल जीवनबाटै सन्यास लिएको बताउनुभयो । उहाँको सन्यासको घोषणा पछि खेल क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै त्रिवेणी क्लबले सम्मान गरेको थियो । रासस

प्रतिक्रिया दिनुहोस्