संघीयता र धर्म निरपेक्षता समस्यामा छः परि थापा



(यमलाल भुसाल)/बुटवल, २१ पुस ।
नेकपा क्रान्तिकारी माओवादीका नेता परि थापाले मुलुकले परिवर्तन चाहेको बताउंदै गणतन्त्र संस्थागत भएपनि संघीयता र धर्म निरपेक्षिता जस्ता एजेण्डा समस्यामा परेको बताउनु भयो ।

उहाँले राष्ट्रियता, जनतन्त्र र जनजीविकाका मुद्वाहरु ओझेलमा परेको उल्लेख गर्दै देशमा भ्रष्टचार, कालोवजारी मौलाउंदै गएको बताउनुभयो । उहाँले वर्तमान संविधानले देशलाई निकास दिन नसक्ने दावी समेत गर्नु भयो ।

संविधानले देशमा द्वन्द्व निम्त्याएको बताउंदै यो संविधान खारेज गरेर जन संविधान निर्माण गर्नुपर्ने बताउनुभयो ।
उहांले सर्वपक्ष्ीय गोलमेच मार्फत संविधान बनाउनुपर्ने र त्यो संविधानले मात्र देशलाई निकास दिन सक्ने दावी गर्नुभयो । क्रान्तिकारी पत्रकार महासंघ,रुपन्देहीले बिहीबार बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै नेता थापाले राष्ट्रिता संकटमा परेको बताउनुभयो ।

संबिधान संशोधन प्रस्तावपछि मुलुकमा संसदवादी दलबीच द्वन्द्व बढेको बताउंदै उहांले सरकारले भारतीय विस्तारवादको इशारामा संसदमा संविधान संशोधन प्रस्ताव दर्ता गराएको दावी गर्नुभयो । उहांले सरकार र एमाले गलत बाटोमा रहेकाले राष्ट्रियता संकटमा परेको बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्